काठमाडौं । अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्नामा रोक लगाएका छन् ।
ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्ने हार्वर्ड विश्वविद्यालयको अधिकार खोसेको हो । यसले गर्दा अमेरिकाको सबैभन्दा पुरानो हार्वर्ड विश्वविद्यालयसँग सरकारको द्वन्द्व बढेको छ ।
अमेरिकी गृह सुरक्षा मन्त्री क्रिस्टी नोएमले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा हार्वर्डले कानुनको पालना नगरेको पाइएकाले अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना कार्यक्रम रद्द गरिएको उल्लेख गरेकी छन् । उनले बिहीबार गरेको पोष्टमा भनेकी छन्, ‘यो देशका सम्पूर्ण विश्वविद्यालय र शैक्षिक संस्थानहरूका लागि चेतावनी हो ।’
हार्वर्ड विश्वविद्यालयले ट्रम्प प्रशासनको यो निर्णयलाई ‘गैरकानुनी’ भनेको छ । विश्वविद्यालयले भनेको छ ‘हामी १४० भन्दा बढी देशहरूबाट आएका हाम्रा अन्तर्राष्ट्रिय विद्यार्थी र विद्वानहरूलाई भर्ना गर्ने हाम्रो क्षमता कायम राख्न दृढ छौँ । उनीहरूले यस विश्वविद्यालय र यो राष्ट्रलाई अत्यन्त समृद्ध बनाएका छन् ।’
हार्वर्डले आफूहरू यस प्रतिशोधात्मक कारबाहीको विरुद्धमा आफ्ना समुदायका सदस्यहरूसँग मार्गदर्शन र सहयोगका लागि तीव्र गतिमा काम गरिरहेको पनि बताएको छ । सरकारको यस निर्णयले हार्वर्ड समुदाय र देशलाई गम्भीर क्षति पुर्याउन सक्ने र यसले विश्वविद्यालयको शैक्षिक तथा अनुसन्धान मिशनलाई पनि कमजोर पार्ने चेतावनी दिएको छ ।
ट्रम्प प्रशासनको यो निर्णयले हार्वर्डमा पढ्ने हजारौँ अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई प्रभाव पर्न सक्छ । हार्वर्ड विश्वविद्यालयका अनुसार गत शैक्षिक वर्षमा ६,७०० भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरू भर्ना भएका थिए, जुन कुल विद्यार्थी सङ्ख्याको २७ प्रतिशत हो ।
FACEBOOK COMMENTS