काठमाडौँ । इरानसँगको युद्ध सुरु गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तय गरेका पाँच प्रमुख लक्ष्यमध्ये धेरै अझै अधुरा रहेका छन् ।
युद्ध सुरु भएको एक महिनाभन्दा बढी समय बितिसक्दा केही क्षेत्रमा प्रगति देखिए पनि धेरै महत्वपूर्ण मोर्चामा अपेक्षित उपलब्धि हासिल हुन नसकेको देखिएको छ ।
पहिलो लक्ष्य इरानको क्षेप्यास्त्र र ड्रोन क्षमता समाप्त गर्ने थियो । अमेरिका र इजरायलले इरानका धेरै क्षेप्यास्त्र अड्डा र कारखाना ध्वस्त पारेका छन् । तर पनि इरानले अझै क्षेप्यास्त्र र ड्रोन आक्रमण जारी राखेकाले यो लक्ष्य पूर्ण रूपमा पूरा भएको मानिएको छैन ।
दोस्रो लक्ष्य इरानी नौसैनिक शक्ति समाप्त गर्ने रहेको थियो । युद्धका क्रममा इरानको नौसेनाले ठूलो क्षति व्यहोरेको र केही जहाज नष्ट भएका भए पनि पूर्ण रूपमा समाप्त भएको दाबी भने अझै स्पष्ट छैन ।
तेस्रो लक्ष्य इरान समर्थित सशस्त्र समूहलाई कमजोर बनाउने थियो । तर इराक र लेबनानमा यस्ता समूह अझै सक्रिय रहेर आक्रमण जारी राखिरहेका छन् ।

चौथो लक्ष्य इरानको आणविक कार्यक्रम रोक्ने थियो । अमेरिकाले इरानका आणविक केन्द्रहरूमा आक्रमण गरेको भए पनि इरानसँग अझै उच्चस्तरको युरेनियम मौजुद रहेको रिपोर्टहरूले देखाएका छन् । यसले आणविक जोखिम पूर्ण रूपमा अन्त्य नभएको संकेत गर्छ ।

पाँचौँ लक्ष्य इरानमा शासन परिवर्तन गराउने रहेको थियो । तर हालसम्म त्यहाँको वर्तमान शासन कायम नै रहेको छ र नयाँ नेतृत्वसमेत कडा धारणा राख्ने खालको रहेको बताइएको छ ।
FACEBOOK COMMENTS