काठमाडौं । अमेरिकाले क्यानडाबाट आयात हुने करिब एक अर्ब अमेरिकी डलर मूल्यका सामानमा प्रतिबन्ध लगाएको छ । प्रतिबन्धित वस्तुमा मादक पेय, दुग्धजन्य पदार्थ र मोटरसाइकललगायत छन् ।
अमेरिका र क्यानडाबीच यसअघि नै तनावपूर्ण रहेको व्यापारिक सम्बन्धलाई यो कदमले थप जटिल बनाउने अनुमान गरिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा जारी व्यापार विवादलाई पनि यसले थप बढाउने देखिएको छ ।
क्यानडा अमेरिकाको लामो समयदेखिको सहयोगी तथा प्रमुख व्यापारिक साझेदार हो । दुई देशबीच वार्षिक करिब ८८० अर्ब अमेरिकी डलर बराबरको द्विपक्षीय व्यापार हुँदै आएको छ । मंगलबारदेखि लागू भएको नयाँ प्रतिबन्ध भने दुई देशबीच हुने कुल व्यापारको तुलनामा निकै सानो हिस्सा हो ।
व्यापारसम्बन्धी अधिवक्ता प्याट्रिक चाइल्ड्रेसले आयात प्रतिबन्धले अमेरिका र क्यानडाबीचको व्यापारिक तनाव कम गर्न कुनै सहयोग नगर्ने बताएका छन् ।

अमेरिका र क्यानडाबीचको पछिल्लो व्यापार विवाद गर्मीयामदेखि चर्किएको हो । त्यस क्रममा ट्रम्पले करिब २० अर्ब अमेरिकी डलर मूल्यका क्यानडाली सामानमा ५० प्रतिशत शुल्क लगाएका थिए । ट्रम्पले क्यानडाले अमेरिकी दुग्ध, मोटर तथा मादक पेय पदार्थ उत्पादकलाई विभेद गरेको आरोप लगाएका थिए । त्यसको जवाफमा क्यानडाले पनि अमेरिकी सामानमा १५, २५ र ५० प्रतिशतसम्मका प्रतिशोधात्मक शुल्क लगाएको थियो । अमेरिकाले लगाएको शुल्कको जवाफ दिएको भन्दै ट्रम्प प्रशासनले क्यानडाली उत्पादनको सूची तयार पारेर प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

नयाँ प्रतिबन्धको आर्थिक प्रभाव भने सीमित रहने अनुमान गरिएको छ । व्यापारसम्बन्धी अधिवक्ता चाइल्ड्रेसका अनुसार प्रतिबन्धित वस्तुमा यसअघि नै ट्रम्प प्रशासनले ५० प्रतिशत शुल्क लगाइसकेको थियो । त्यसैले ती वस्तु क्यानडाबाट अमेरिकामा आयात गर्दा व्यापारिक लाभ पहिले नै घटिसकेको थियो । दक्षिणपन्थी अमेरिकी कार्यनीति मञ्चका व्यापार नीति निर्देशक ज्याकब जेन्सेनका अनुसार सन् २०२५ को तथ्यांकका आधारमा नयाँ प्रतिबन्धले करिब ९६ करोड ७० लाख अमेरिकी डलर मूल्यका क्यानडाली आयातलाई समेट्नेछ । यसको करिब ८७ प्रतिशत हिस्सा मादक पेयको रहेको बताइएको छ। ट्रम्प प्रशासनले मादक पेयलाई लक्षित गर्नुको एउटा कारण क्यानडाका केही प्रान्तले व्यापार विवादका क्रममा अमेरिकी मदिरालाई पसलका तखताबाट हटाएको घटनालाई मानिएको छ । केही दुग्धजन्य पदार्थमा पनि प्रतिबन्ध लगाइएको छ । त्यसमा दूधबाट बन्ने उपउत्पादन ‘व्हे’ समेत समावेश छ ।

अमेरिका र क्यानडाबीच क्यानडाको दुग्ध उद्योगलाई विदेशी प्रतिस्पर्धाबाट जोगाउने नीतिलाई लिएर लामो समयदेखि विवाद रहँदै आएको छ । क्यानडाले निश्चित परिमाणभन्दा बढी दुग्धजन्य पदार्थ आयात गर्दा उच्च शुल्क लगाएर आफ्नो दुग्ध उद्योगको संरक्षण गर्दै आएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानडा अन्ततः झुक्ने विश्वास व्यक्त गरेका थिए । उनले सोमबार पत्रकारहरूसँग क्यानडाले अमेरिका भ्रमण गरेर आफ्नो गल्ती स्वीकार गर्ने र निष्पक्ष सम्झौता गर्न सकिने बताएका थिए । मंगलबार ट्रम्पको उक्त भनाइबारे सोधिएको प्रश्नमा क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले प्रत्यक्ष प्रतिक्रिया दिन अस्वीकार गरे । तर उनले क्यानडा वार्ताका लागि तयार रहेको बताएका छन् ।
कार्नीले दुवै देशको सार्वभौमिकताको सम्मान गर्दै पारस्परिक रूपमा लाभदायक व्यापारिक व्यवस्था निर्माण गर्न क्यानडा सद्भावनापूर्वक वार्ताका लागि तयार रहेको बताएका छन् । उनले अमेरिकी शुल्क तथा आयात प्रतिबन्धको जवाफमा क्यानडाले थप कदम चाल्ने सम्भावनालाई पनि अस्वीकार गरेनन् । क्यानडाको प्रतिक्रिया अमेरिकी राजनीतिक समयतालिकाका आधारमा तय नहुने उनको भनाइ छ ।
कार्नीले ऊर्जा, खाद्य, सूचना तथा वित्तीय सुरक्षालगायत क्षेत्रमा विश्वसनीय साझेदारीमार्फत दुवै देशलाई फाइदा पुग्न सक्ने बताएका छन् । उनले क्यानडा विश्वसनीय साझेदार भएको र यी क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताएका छन् ।
व्यापारसम्बन्धी अधिवक्ता चाइल्ड्रेसले अमेरिका–क्यानडा व्यापार विवाद तत्काल समाधान हुने सम्भावना नरहेको बताएका छन् । उनका अनुसार अहिलेका शुल्क र आयात प्रतिबन्धले कुनै पनि पक्षलाई वार्ताको टेबलमा फर्काउन पर्याप्त आर्थिक दबाब सिर्जना नगर्ने भएकाले गतिरोध केही हप्ता नभई महिनौँसम्म लम्बिन सक्ने सम्भावना छ ।