काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाका लागि प्रस्ताव गरिएको शान्ति बोर्ड अहिले अलमलमा परेको देखिएको छ । यसको मुख्य कारण पर्याप्त रकम अभाव रहेको विभिन्न रिपोर्टहरुले उल्लेख गरेका छन् ।
गाजाको पुनर्निर्माणका लागि करिब १७ अर्ब डलर सहयोगको प्रतिबद्धता आएको थियो । तर हालसम्म १ अर्ब डलरभन्दा कम मात्रै रकम प्राप्त भएको जनाइएको छ ।
सहयोग गर्ने भनिएका १० देशमध्ये अहिलेसम्म संयुक्त अरब इमिरेट्स, मोरक्को र अमेरिकाले मात्र रकम उपलब्ध गराएका छन् । पछिल्लो समय ईरानसँग बढ्दो तनाव र युद्धजस्तो अवस्थाले प्रक्रिया थप सुस्त बनाएको बताइएको छ ।
दुई वर्ष लामो द्वन्द्वका कारण गाजाका अधिकांश संरचना ध्वस्त भइसकेका छन् । यसको पुनर्निर्माणका लागि करिब ७० अर्ब डलर खर्च लाग्ने अनुमान गरिएको छ ।
हालैको घटनाक्रमअनुसार गाजामा पछिल्ला महिनाहरूमा इजरायल र हमास बीच तीव्र युद्ध भएको थियो । निरन्तर हवाई आक्रमण र स्थल कारबाहीका कारण ठूलो जनधन क्षति भएको छ । त्यसपछि अन्तर्राष्ट्रिय दबाबका बीच युद्धविरामको प्रयास सुरु भए पनि स्थिति अझै स्थिर हुन सकेको छैन । यही अस्थिर अवस्थाबीच पुनर्निर्माण योजना अघि बढाउन खोजिएको हो ।

यस अवस्थामा आर्थिक अभाव र राजनीतिक विवादले शान्ति योजना कार्यान्वयनमा समस्या देखिएको छ । यद्यपि ट्रम्पको पक्षले भने यी आरोप अस्वीकार गर्दै रकम अभाव नभएको दाबी गरेको छ।
