काठमाडौँ । पर्साको बहुदरमाई नगरपालिकाबाट प्रहरीले नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बहुदरमाई–८ का १९ वर्षीय राजाबाबु साह तेली र पटेर्वासुगौली गाउँपालिका घर भइ हाल बहुदरमाई–८ मै बस्दै आएका २० वर्षीय अजय सहनी रहेका छन् ।
उनीहरूको साथबाट नेपाली १ हजार दरका २० थान २० हजार नक्कली नोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले पर्साको जगरनाथपुर गाउँपालिका–६ मा लागेको दुर्गा भगवती मेलामा नक्कली नेपाली नोट साट्दै गरेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको बताए ।
इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई मेलाबाटै १ हजार दरको २० थान नोटसहित पक्राउ गरेको हो । उनीहरूलाई ईलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखेर मुद्रा सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS