काठमाडौं । सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
उनीहरूलाई मंगलबार पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं माछापोखरी बस्ने स्याङ्जा भीरकोट नगरपालिका–२ लुगाडाँडा घर भएका ३९ वर्षीय संजिव नेपाली र काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–१२ घर भएकी ३३ वर्षीया अनुष्का भन्ने सरिता पराजुली रहेका छन् ।
आफू अमेरिकामा रहेको नेपाली बोल्न नआउने भनेर अंग्रेजी भाषामा बोली प्रिन्स तमाङ नाम बताउने टिकटक आईडीबाट आफ्नो अनुहार नदेखाई कुराकानी गरी पीडितलाई ठगेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार विवाह गरी अमेरिका लाने प्रलोभन/आश्वासन देखाई पटक–पटक गरी १५ लाख १० हजार ५ सय रूपैयाँ ठगी गरेको पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूविरुद्ध विद्युतीय माध्यम सम्बद्ध ठगी अपराध मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
