काठमाडौं । बारास्थित सिम्रौनगढबाट अवैध हतियारसहित प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । सिम्रौनगढ–कचोर्वा सडकखण्डमा चेकजाँचको क्रममा सशस्त्र प्रहरीको गस्ती टोलीले हतियारसहित उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत विहार मोतिहारी जिल्ला घोडासहन थानाक्षेत्रअन्तर्गत कसवा लौखानका विनोद यादवका २३ बर्षीय छोरा पप्पु यादव र छिमेकी गाउँ भेलवा बजारका २२ वर्षीय अखिलेस सिंह रहेको मधेस प्रदेश सशस्त्र प्रहरी प्रमुख डिआईजी गणेश ठाडा मगरले बताएका छन। उनीहरूको साथबाट चाइनिज अटोमेटिक पेस्तोल एक थान, म्यागजिन एक थान त्यसमा लाग्ने गोली दुई थान, घरेलु नलकटुवा पेस्तोल एक थान र त्यसमा लाग्ने गोली दुई थान बरामद गरेको डिआईजी मगरले जानकारी दिए।
बारामा अवैध हतियार कारोबार भइरहेको सूचनाको आधारमा बाहिनीबाट सादा पोसाकमा गएको टोली र झरौखर सीमामा खटिएको सशस्त्र प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। बिआर१सि १३१६ नम्बरको मोटरसाइकलमा आइरहेको अवस्थामा शनिवार विहान १० बजे सिमौनगढ–कचोर्वा सडकखण्डमा रोकेर चेकजाँच गर्दा उनीहरूले कमर मुनि लुकाएर राखेको अवस्थामा उक्त हतियार बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।
मोटरसाइकल र हतियारसहित दुवैजनालाई आवश्यक कार्वाहीको लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाएको सशस्त्र प्रहरी बाराले जनाएको छ ।
FACEBOOK COMMENTS