काठमाडौं । आइतबार भारत आउँदै गरेका दुईवटा बोइङ ड्रीमलाइनर विमान उडान भरेपछि बीच बाटोबाटै विमानस्थलमा फर्किएका छन् ।
एउटा उडान लण्डनबाट चेन्नई आउँदै थियो भने अर्को जर्मनीको फ्र्याङ्कफर्टबाट हैदराबाद आउँदै थियो । दुवै विमान सोमबार अवतरण गर्ने तालिका थियो ।
लण्डनबाट चेन्नई आउँदै गरेको ब्रिटिश एअरवेजको विमान बोइङ ७८७–८ ड्रीमलाइनर थियो । त्यसैगरी, फ्र्याङ्कफर्ट (जर्मनी) बाट हैदराबाद आउँदै गरेको लुफ्थान्सा (एअरलाइन) को विमान बोइङ ७८७–९ ड्रीमलाइनर थियो । यो घटना अहमदाबादमा एअर इण्डियाको बोइङ ड्रीमलाइनर दुर्घटना भएको केही दिनपछि भएको हो ।
ब्रिटिश एअरवेजले लण्डनबाट चेन्नई आउँदै गरेको उडान अवतरण गर्नुअघि उडान भर्ने समय, यात्रु र चालक दलको सङ्ख्या र विमान हावामा रहेको समय खुलाएको छैन । लाइभ फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइट रडारका अनुसार ब्रिटिश एअरवेजको उडान बीए ३५ सोमबार बिहान ३:४५ बजे चेन्नई अवतरण गर्ने तालिका थियो । दिउँसो १:१६ बजे उडान भरेको यो विमान विमानस्थल फर्कनुअघि लगभग दुई घण्टा उडेको थियो । वेबसाइटका अनुसार विमानस्थल फर्कनुअघि उडान धेरैबेर होल्डिङमा परेको थियो ।
त्यस्तै, आइतबार नै फ्र्याङ्कफर्टबाट भारतको हैदराबाद आउने लुफ्थान्साको उडान पुनः फ्र्याङ्कफर्ट फर्किएको छ । यद्यपि, यसको कारण खुलाइएको छैन । हैदराबादको राजीव गान्धी विमानस्थलमा रहेको एअर ट्राफिक कन्ट्रोल (एटीसी) ले जर्मनीबाट उडान भरेको केही समयपछि विमान फ्र्याङ्कफर्ट फर्किरहेको सन्देश प्राप्त गरेको उल्लेख छ । यो विमान सोमबार बिहान ६:१५ बजे हैदराबादमा अवतरण गर्ने तालिका थियो ।
FACEBOOK COMMENTS