पोखरा कार्तिक २३, कास्की प्रहरीले पोखरामा ठूलो परिमाणमा लागूऔषधसहित दुई युवतीलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका – ८ सिमलचौरबाट २१६ एम्पुल लागूऔषधसहित सोमबार दुई युवती पक्राउ परेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।
पक्राउ पर्नेहरूमा पोखरा – ९ नयाँ बजारमा डेरा गरी बस्ने लमजुङ दोर्दी -७ घर भएकी ३१ वर्षीया प्रेमा गुरुङ र ३१ वर्षकै गुल्मी मालिका -२ घर भएकी कोपिला अर्याल रहेको डिएसपी हमालले उल्लेख गर्नुभयो ।
डिएसपी हमालका अनुसार शङ्कास्पद अवस्थामा हिँडिरहेका उनीहरुको साथबाट जिल्लाबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा डाइजापाम ७४ एम्पुल, ब्रुफिनुर्फिन ७० एम्पुल र फेनेरागन ७२ एम्पुल फेला पारेको हो । उनीहरूलाई जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा आठ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS