काठमाडौं । काठमाडौंको टोखा नगरपालिका धनेश्वरबाट हराएको प्रदेश ३–०२–००२ प ४८०३ नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा २ जनालाई बिहीबार ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोटको सुर्यगडी गाउँपालिका–४ घर भई हाल काठमाडौंको वनस्थली बस्ने २४ वर्षीय सञ्जय तामाङ र नुवाकोटको तादी गाउँपालिका–६ घर भई हाल काठमाडौंको तारकेश्वर–६ बस्ने ३२ वर्षीयका बुद्धिबहादुर तामाङ रहेका महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।
यी दुवैलाई ट्राफिक प्रहरीले काठमाडौंको तारकेश्वर–६ धर्मस्थलीबाट बा८९प ७९६९ नम्बरको कालो, रातो रंगको २२० सीसीको पल्सार मोटरसाइकल शंकास्पद रूपमा चलाइरहेको अवस्थामा फेला पारी चेकजाँच गरी बुझ्दा उक्त च्यासिस तथा ईन्जिन नम्बर भएको मोटरसाइकलको वास्तविक नम्बर प्रदेश ३–०२–००२ प ४८०३ खुल्न आएको ट्राफिक प्रहरी प्रमुख एसएसपी जनक भट्टराईले बताए ।
चोरीमा संलग्नलाई पक्राउ गर्न महाशाखाले सादा पोशाकमा ट्राफिक प्रहरीको टोली परिचालित गरी निरन्तर सूचना संकलन र निगरानीपश्चात नम्बर परिवर्तन गरी मोटरसाइकल चलाइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिन सफल भएको उनले बताए ।
मोटरसाइकल साउन १३ गते टोखा नगरपालिका धनेश्वरबाट हराएको हुँदा खोजतलास गरी पाउँ भनी रसुवाको नौकुण्ड गाउँपालिका–६ घर भएका २१ वर्षीय राममान तामाङले महाशाखामा निवेदन दिएका थिए । पक्राउ परेका मोटरसाइकलसहित दुवै जनालाई थप अनुसन्धान एवं कानूनी कारबाहीको लागि प्रहरी बृत्त, महाराजगञ्जमा बुझाइएको समेत ट्राफिक महाशाखाले जनाएको छ ।
FACEBOOK COMMENTS