काठमाडौं । एसीसी यू–१९ एसिया कपमा नेपालले लगातार दोस्रो पराजय भोगेको छ ।
आज भएको दुबईमा भएको खेलमा बंगलादेशले नेपाललाई ७ विकेटले हरायो । नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै बंगलादेशलाई १३१ रनको मामूली लक्ष्य दिएको थियो । जवाफमा बंगलादेशले ३ विकेट क्षतिमा २४.५ ओभरमै लक्ष्य भेट्टायो । नेपालका अभिषेक तिवारी र युवराज खत्रीले एक–एक विकेट लिए ।
बंगलादेशका ओपनर जवाद आब्ररले ६८ बलमा ७० रनको अविजित इनिङ खेल्दै टिमलाई जित दिलाएका थिए । उनले ७ चौका र तीन छक्का प्रहार गरे । नेपालका बलर अभिषेक तिवारी र युवराज खत्रीले एक–एक विकेट लिए ।
नेपालले ब्याटिङमा राम्रो सुरुवात गर्दै पहिलो विकेटका लागि ६.४ ओभरमा ४० रन जोडेको थियो । तर, त्यसपछि लगातार विकेट गुमाएर आफूलाई कमजोर स्थितिमा पुर्यायो । नेपालका लागि आठौं नम्बरका ब्याट्सम्यान अभिषेक तिवारीले सर्वाधिक ३० रन जोडे । ४३ बलको सामना गर्दा उनले २ छक्का प्रहार गरेका थिए ।
नेपालका ओपनर साहिल पटेलले २५ बलमा १८ रन तथा निरज यादवले २७ बलमा १४ रन बनाए । आशिष लुहारले ४१ बलको सामना गर्दै २३ रन बनाएर आउट भए । अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालले अतिरिक्तका रुपमा २३ रन पाएको थियो । बंगलादेशका बलर मोहम्मद सोबुजले सर्वाधिक तीन विकेट लिए । साद इस्लाम र शाहरियार अहमदले २–२ विकेट बाँडे । नेपाल पहिलो म्याचमा श्रीलंकासँग ८ विकेटले पराजित भएको थियो ।

FACEBOOK COMMENTS