काठमाडौं । नेपालले जारी साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा आज भारतको सामना गर्दैछ ।
कोलोम्बोस्थित कोलोम्बो रेसकोर्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ७ः४५ बजेदेखि शुरु हुदैछ ।
त्यस्तै आजै पहिलो सेमिफाइनलमा बंगलादेश र पाकिस्तान खेल्दैछन् । यो खेल नेपाली समय अनुसार दिउसो सवा ३ बजेदेखि शुरु हुदैछ । प्रतियोगिताको फाइनल खेल शनिबार हुने छ । नेपाल समुह ए मा उपविजेता हुदै सेमिफाइनलमा पुगेको हो । नेपालले समुह चरणमा खेलेका २ खेलमा एक खेलमा श्रीलंकालाई २–० ले पराजित गरेको थियो भने अर्को खेलमा बंगलादेशसँग ४–० ले हार बेहोरेको थियो ।
त्यस्तै भारत भने समुह बी मा अपराजित हुदै समुह विजेता बनेर सेमिफाइनलमा पुगेको हो । भारतले पहिलो खेलमा माल्दिभ्सलाई ६–० ले पराजित गरेको थियो भने भुटानलाई १–० ले र पाकिस्तानलाई ३–२ गोल अन्तरले पराजित गरेको थियो ।
साफ यू–१७ च्याम्पियनसिप खेल्ने नेपाली टिममा गोलकिपर पेम्बा नोर्बु भोटे, राम बोहर र विशेष बानिया रहेका छन् भने डिफेन्डरमा प्रशान्त मोक्तान, दिपेन कार्की, धिरज रावल, आदित्य राना मगर, भुवन कामी, अनमोल कार्की, मौसम रोकाया र अनोज खड्का रहेका छन् । त्यस्तै मिडफिल्डरमा प्रशान्त मेन्याङ्बो, राम थामी, कृष्टा भण्डारी, प्रतिश थापा मगर, भूपेश लामा, नसिब हेन्जन, सुशन मगर र सुजन स्याङ्तान रहेका छन् भने फरवार्डमा समीर कुमार, डिआईजी विजय शाही, निसकुमार श्रेष्ठ र रोहित श्रेष्ठ रहेका छन् ।
FACEBOOK COMMENTS