काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) ले इरानबाट प्रहार गरिएका नयाँ चरणका क्षेप्यास्त्र रोकेको जनाएको छ ।
यूएईको रक्षा मन्त्रालयका अनुसार देशतर्फ लक्षित क्षेप्यास्त्रहरू हवाई प्रतिरक्षा प्रणालीमार्फत क्षेप्यास्त्र नष्ट गरिएको हो । उक्त कारबाही प्रभावकारी रूपमा सम्पन्न भएको र कुनै भौतिक क्षति नभएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले देशको सुरक्षा र स्थायित्वमाथि हुने कुनै पनि खतरासँग जुध्न पूर्ण तयारी अवस्थामा रहेको उल्लेख गर्दै नागरिक, बसोबास गर्ने विदेशी तथा पर्यटकको सुरक्षा सर्वोच्च प्राथमिकतामा रहेको स्पष्ट पारेको छ ।
प्रतिरक्षा प्रणालीद्वारा अवरोध गरिएका क्षेप्यास्त्रका अवशेष अबुधाबीका सादियात टापु, खलिफा सहर, बनियास क्षेत्र, मोहम्मद बिन जायद क्षेत्र र अल फलाह क्षेत्रमा खसेको जानकारी दिइएको छ । यद्यपि, घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ ।

यूएईले यस घटनालाई राष्ट्रिय सार्वभौमिकता र अन्तर्राष्ट्रिय कानूनको खुला उल्लङ्घन भएको उल्लेख गर्दै आफ्नो भूमि, नागरिक र सुरक्षाको रक्षा गर्न आवश्यक सबै कदम चाल्ने अधिकार सुरक्षित रहेको जनाएको छ ।

साथै, मन्त्रालयले सर्वसाधारणलाई आधिकारिक स्रोतबाट मात्र सूचना लिन र अफवाह वा अप्रमाणित समाचार नफैलाउन आग्रह गरेको छ ।

FACEBOOK COMMENTS