पोखरा । नेपाल इन्जिनीयर्स एसोसिएशन गण्डकी प्रदेश र बर्जर्स पेन्ट्सको साझेदारीमा इन्जिनीयरहरूलाई लक्षित गरी दुई दिने व्यावसायिक कार्यशाला सम्पन्न भएको छ ।
फागुन ९ देखि १२ गतेसम्म पोखरा इन्जिनीयरिङ कलेजमा सञ्चालित कार्यशालामा पहिलो दुई दिन यूएभी फोटो मापन विधि तथा जीएनएसएस प्रयोग गरी भूमि सर्वेक्षणका लागि व्यवसायिक प्रशिक्षण सञ्चालन गरिएको थियो । यस्तै, पछिल्लो दुई दिन सिभिल इन्जिनीयर तथा आर्किटेक्चर अन्तिम वर्षका विद्यार्थीहरूका लागि कार्यशाला गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रम सोसाइटी अफ इन्जिनीयरिङ कन्सल्टेन्सीज पोखरा (सेकोन), नेपाल भ्यालुयर्स एसोसिएसन गण्डकी प्रदेश, सोसाइटी अफ नेपाली आर्किटेक्टस् (सोना), संघीय आयोजना कार्यान्वयन इकाई कास्की, नेपाल विद्युत् प्राधिकरण कास्की र नापी कार्यालय कास्कीको प्राविधिक सहयोग तथा गण्डकी जीआई वारको आर्थिक सहयोगमा आयोजना गरिएको थियो ।
कार्यक्रममा पोखरा इन्जिनीयरिङ कलेज, पश्चिमाञ्चल क्याम्पस, र स्कूल अफ इन्जिनीयरिङ पोखरा विश्वविद्यालयका ६० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यशालाको समापन गर्दै एसोसिएशनका अध्यक्ष ई. सन्तोष जीसीले विद्यार्थीहरूलाई नगरपालिका नियमावली, घरायसी विद्युत् सुरक्षा, सम्पत्ति मूल्याङ्कन, सरकारी रङ कोड, तथा भूमि सर्वेक्षणसम्बन्धी कार्यशालाले उनीहरूको सिप अभिवृद्धि गर्न मद्दत् गर्ने बताएका थिए ।
कार्यक्रममा बर्जर्स पेन्ट्सका प्रतिनिधि बिजय सुवेदीले पेन्ट्स तथा सरकारी रङ कोडबारे जानकारी गराएका थिए । त्यस्तै, नगरपालिका नियमावली सम्बन्धमा ई. किसान सिंह गुरुङ, सम्पत्ति मूल्याङ्कन सम्बन्धमा ई. राजेश भट्टराई, घरायसी विद्युत् सुरक्षा सम्बन्धमा ई. अजेश अखेली, तथा नेपालमा वास्तुकलाको महत्त्वबारे आर्किटेक्ट लुना थापाले प्रशिक्षण प्रदान गरेका थिए । साथै, युएभी फोटो मापन विधि तथा जीएनएसएस प्रयोग गरी भूमि सर्वेक्षण सम्बन्धमा ई. सूर्य अधिकारीले प्रशिक्षण दिएका थिए ।
अध्यक्ष ई. सन्तोष जीसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष ई. विशाल थापा, सदस्यहरू ई. महेन्द्र पौडेल, ई. सञ्जय राज तिमिल्सिना, ई. मनोज गिरी, ई. निरोज घिमिरे, ई. रोचक क्षेत्रीलगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन एसोसिएशनका सचिव ई. निरोज लामिछानेले गरेका थिए ।
FACEBOOK COMMENTS