काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०मा जारी महाधिवेशनबाटै पदाधिकारी र केन्द्रीय सदस्य निर्वाचित गर्नुपर्ने दबाब बढेको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल तत्काल पदाधिकारी चयन नगरी केन्द्रीय समिति मात्रै घोषणा गर्ने मनस्थितिमा रहेको बताइएको बेला जारी बन्दसत्रमा यस्तो आवाज उठेको हो ।
माओवादी केन्द्रमा अध्यक्ष र उपाध्यक्ष चयनमा खासै विवाद नभए पनि महासचिवलाई लिएर चर्को विवाद छ । अध्यक्ष दाहाल, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा हाल स्थायी समितिमा रहेका वरिष्ठ नेताहरूलाई समेटिने विषयमा खासै विवाद नरहे पनि महासचिवमा जनार्दन शर्मा, वर्षमान पुन र पम्फा भुषालले दाबी नछाडेपछि निर्वाचनको आवाज पल्लाभारी भएको हो । यी तीनमध्ये शर्मा र पुन बलियो देखिए पनि अध्यक्ष दाहालले कसलाई सिफारिस गर्छन्, यकिन छैन ।
माओवादी केन्द्रका नेता श्रीराम ढकालले अध्यक्ष दाहालले पेस गरेको राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले पेस गरेको विधान संशोधन प्रस्तावमा विभिन्न २५ समूहमा समूहगत छलफल गरेर बिहीबार प्रस्तुति सकिएको र शुक्रबार अध्यक्ष दाहालले बन्दसत्रमा उठेका जिज्ञासाको जवाफ दिएपछि निर्वाचन प्रक्रिया अघि बढ्ने बताए । उनले अध्यक्ष दाहालले जवाफ दिइसकेपछि निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने पनि बताए ।
अब माओवादी केन्द्रले १५ सदस्यीय पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाउनेछ । जसमा अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्षसहितको पदाधिकारी हुनेछ । बन्दसत्रमा समूह १३ का टोली नेता गोपाल शर्माले महाधिवेशन हलबाटै पदाधिकारीसहित केन्द्रीय समितिका सदस्यहरू निर्वाचित हुनुपर्ने सुझाव पेस गरेका छन् ।
‘हालै सम्पन्न विभिन्न जनवर्गीय संगठनहरूमा नेतृत्व र पदाधिकारीविहीन बनाएर राजनीतिमा राम्रो सन्देश गएको छैन,’ शर्माले भने, ‘महाधिवेशनमा पनि यो स्थिति पैदा हुनुहुँदैन । माथिल्लो तहका कमजोरीले तल्लो तहमा देखिएको उत्साहसमेत कमजोर बनाइएको छ । महाधिवेशनबाटै पदाधिकारी चयन गरिनुपर्छ ।’
माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले बन्दसत्रमा अध्यक्ष दाहालको वैचारिक राजनीतिक प्रतिवेदनमाथि १० बुँदे फरक मत राखेका छन् । प्रतिवेदनमाथिको समूहगत छलफलका क्रममा न्यौपानेले दस्तावेज अपूर्ण रहेको भन्दै १० बुँदे फरकमत राखेका हुन् । समूहगत छलफलको निष्कर्ष राख्दै उपत्यका विशेष प्रदेशका नेता जगत सिंखडाले बन्दसत्रमा त्यसको जानकारी गराएका छन् ।
न्यौपानेले राजनीतिक दस्तावेजले विचार, दृष्टिकोण र दिशा समात्न नसकेको, नेपाली समाजको अन्तरविरोध, वर्ग सम्बन्ध र संघर्ष, उत्पादन प्रणाली, उत्पादनको साधनमाथिको स्वामित्व र वितरण प्रणाली’दयगत ठोस विश्लेषण गर्न नसकेको टिप्पणी गरेका छन् ।
पार्टीमा कार्यशैलीगत समस्या देखिएको, नैतिकताको र आचरणको अभाव, सामन्ती र बुर्जुवा चिन्तन पद्धति हाबी रहेको भन्दै उनले पार्टी तीव्ररूपमा दक्षिणपन्थी दिशामा अगाडि बढिरहेकाले त्यसको जिम्मेवारी नेतृत्वले लिनुपर्ने जनाएको आजको राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS