दोलखा । दोलखाको बिगु गाउँपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार सञ्जिव ओली निर्वाचित भएका छन् ।
नेकपा एमालेका उम्मेदवार अचुतम केसीको कडा टक्करकाबीच ओली ४ हजार १०० मतका साथ निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी केसीले ३ हजार ९७३ मत पाए । ओलीले केसीलाई १२७ मतान्तरले पराजित गरेका हुन् ।
यसअघि उपप्रमुखमा निर्वाचित ओली पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थिए । गबन्धनबाट उम्मेदवार बनेकाले उनलाई अन्य पार्टीको तुलनामा निकै बलिया र सशक्त उम्मेदवार मानिएको थियो । तर, एक्लै निर्वाचन लडेको एमालेका उम्मेदवार केसीले उनलाई पालिकाको वडा नं. १ लामाबगरबाहेक सबै वडामा कडा टक्कर दिन सफल भए । हरेक वडामा झिनो मतान्तर पछ्याउँदै केसी जितको नजिक पुगेको भए पनि पार्टीभित्रका कार्यकर्ताहरूबाटै भएका सामान्य कमीकमजोरीका कारण पराजित हुनु परेको एमालेवृत्तमा चर्चा छ ।
पालिका प्रमुखका लागि ओली र केसीसहित ११ जनाले प्रतिस्पर्धा गरेका थिए । प्रतिस्पर्धामा उत्रिएका जनता समाजवाली पार्टी, नेपालका उम्मेदवार दावाछिरी शेर्पाले ८३ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार देवेन्द्र खड्काले ४१ मत प्राप्त गरे । त्यस्तै स्वतन्त्र उम्मेदवारहरू शेरबहादुर दमाइले १६ मत, ङावा शेर्पाले ३ मत र राजेन्द्र ठकुरी तथा बन्धुविलास मल्ल ठकुरीले १/१ मत प्राप्त गरे । स्वतन्त्रबाटै उम्मेदवारी दिएका मिलन खड्का, हेमबहादुर थामी र राधिका मल्ल ठकुरीले एक मत पनि प्राप्त गरेनन् ।
पालिका उपप्रमुखमा देबिका थामी निर्वाचित
यसअघिको निर्वाचनमा एमालेले प्रमुख र उपप्रमुख दुबै पद गुमाए पनि यो पटक उपप्रमुखमा जित हासिल गर्न सफल भएको छ । एमालेको तर्फबाट उम्मेदवार बनेकी जिल्ला कमिटी सदस्य देबिका थामी उपप्रमुखमा निर्वाचित भएकी छिन् । ४ हजार १३ मत प्राप्त गरी उनी निर्वाचित भएकी हुन् ।
उनले गठबन्धनका तर्फबाट उपप्रमुखको उम्मेदवार बनेका नेपाली कांग्रेसका अंगिमा (आङनिमा) शोर्पालाई १८७ मतान्तरले पराजित गरेकी हुन् । थामीकी निकटतम प्रतिस्पर्धी शेर्पाले ३ हजार ८३६ मत प्राप्त गरे । शेर्पाले निर्वाचनका दिन साबिक बिगुको बुथ कब्जा गरी आफूलाई मात्र ३०० भन्दा बढी मत मतपेटिकामा खसालेका थिए । यद्यपि, उनी एमालेकी थामीसँग पराजित भए ।
उपप्रमुख पदको अर्का उम्मेदवार राष्ट्रिय प्राजातन्त्र पार्टीकी सम्झना ठकुरीले २९ मत प्राप्त गरेकी छिन् ।
आठमध्ये तीन वटा वडामा एमालेको जित, गठबन्धनले दुई/दुई वटा बाँडे
आठ वटा वडा रहेको बिगुमा तीन वटा वडामा एमालेले जित हासिल गरेको छ । एमालेले वडा नं. ५ चिलंखा, वडा नं. ६ आलाम्पु र वडा नं. ८ खोपाचागुमा जित हासिल गरेको हो । पालिका निर्वाचन कार्यालय सिंगटीका अनुसार वडा नं. ५ चिलंखामा काले शेर्पा (कर्मा) (७७४ मत), आलाम्पुमा टहलबहादुर थामी (४२८ मत) र खोपाचागुमा हिरा थामी (५७१ मत) निर्वाचित भएका छन् । अन्य पाँच वटा वडामध्ये गठबन्धनबाट कांग्रेस र माओवादीले २/२ वडा र स्वतन्त्र उम्मेदवारले एउटा वडामा जित हासिल गरेका छन् ।
निर्वाचन कार्यालयका अनुसार वडा नं. १ लामाबगरमा नेपाली कांग्रेसका मेमबहादुर तामाङ (५४६), वडा नं. २ वराङमा नेकपा माओवादीका दिपक ठकुरी (५३५), वडा नं. ३ बुलुङमा स्वतन्त्र उम्मेदवार ढालबहादुर तामाङ (४७७) र वडा नं. ४ लादुकमा नेकपा माओवादी केन्द्रका रामचन्द्र खड्का (७२९) निर्वाचित भएका छन् । त्यस्तै वडा नं. ७ बिगु (साविक)मा नेपाली कांग्रेसका दलबहादुर श्रेष्ठ (२९३) निर्वाचित भएका छन् ।
FACEBOOK COMMENTS