ताप्लेजुङ । नेपाल एयरलाइन्सले करिब ३ महिनापछि काठमाडौँ सुकेटार उडान सुरु गरेको छ ।
खराब मौसमलगायतका कारण गत जेठ २४ गतेदेखि काठमाडौँ सुकेटार उडान हुन सकेको थिएन । मौसममा सुधार आएसँगै सोमबारदेखि नियमित उडान सुरु भएको नेपाल एयरलाइन्सका सुकेटार विमानस्थल प्रमुख सचिन तिवारीले जानकारी दिए।
लामो समयपछि भएको उडानमार्फत काठमाडौँबाट ६ यात्री ताप्लेजुङ आएका छन् भने एक जना यात्री काठमाडौँ गएका छन् । पहिलेकै उडान तालिकाअनुसार साताको सोमबार, बिहीबार र शनिबार नियमित उडान हुने उनले बताएका छन् । करिब १ हजार ८ सय मिटरको उचाइमा रहेको सुकेटार विमानस्थलमा बर्खाको समयमा प्रायः हुस्सु लाग्ने भएकाले उडानमा कठिनाइ हुने गरेको छ ।
यसअघिको तुलनामा उडानको भाडा दरसमेत घटाइएको छ । काठमाडौँ ताप्लेजुङको भाडा यसअघि रु नौ हजार छ सय ५३ थियो भने हाल घटाएर ८ हजार ६ सय कायम गरिएको छ । यस्तै ताप्लेजुङ काठमाडौँको भाडा यसअघि ९ हजार ४ सय ५३ भएकोमा यसलाई घटाएर ८ हजार चार सयमा झारिएको छ ।
मौसममा क्रमशः सुधार आएको र चाडबाड नजिकिएकाले नियमितरुपमा उडान हुने विमानस्थलको विश्वास छ । यस्तै पर्यटनको समेत सिजन लागेकाले यात्रुको अभावसमेत नहुने अनुमान गरिएको विमानस्थलले जनाएको छ ।
FACEBOOK COMMENTS