काठमाडौं । उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा ४६ करोड ५२ लाख रुपैयाँबराबर भ्रष्टाचारको अभियोगसहित विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेल, निमित्त महाप्रबन्धक नवलकिशोर साह, नायब महाप्रबन्धक महेशप्रसाद काफ्ले, उत्पादन महाशाखा प्रमुख संजयकुमार लाल, भण्डार महाशाखा प्रमुख महेशप्रसाद साह, क्लिंकर उत्पादन विभाग प्रमुख रवीचन्द्र पौडेल, सिमेन्ट उत्पादन विभाग प्रमुख हरिप्रसाद अधिकारी, बिक्री विभाग प्रमुख रामबहादुर जिसीमाथि भ्रष्टाचारमा सजायको माग राखेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार (माघ १८) मुद्दा दायर गरेको हो ।
आपसी मिलेमतोमा निजी लाभका निम्ति सार्वजनिक संस्थालाई हानि पुर्याउने बदनियतले भ्रष्टाचार गरिएको अख्तियारको जिकिर छ । सिमेन्ट उद्दोगमा प्रयोग हुने क्लिंकरको मासिक तथा वार्षिक मौज्दात अभिलेख, भौतिक परीक्षणबाट देखिएको परिमाण, महालेखापरीक्षकको कार्यालयको लेखापरीक्षण प्रतिवेदन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको छानबिन प्रतिवेदन समेतका आधारमा घटी देखिएको अख्तियारले जनाएको छ ।
अभियोगपत्रानुसार, आ.व. २०७४/०७५ को १,१२९ मेट्रिक टन क्लिंकरको लागत मूल्य एक करोड १४ लाख १० हजार ३४० रुपैयाँ ११ पैसा, २०७५/०७६ को १०,२०० मेट्रिक टन क्लिंकरको लागत मूल्य ११ करोड ३३ लाख ११ हजार ९०२, २०७६/०७७ को १,३२५ मेट्रिक टन क्लिंकरको लागत मूल्य एक करोड ६२ लाख ४६ हजार ७१२ रुपैयाँ ७५ पैसा हानिनोक्सानी भएको अख्तियारको दाबी छ ।
यस्तै, ०७७ साउन १ देखि पुस मसान्तसम्मको २६,११५ मेट्रिक टन क्लिंकरको लागत मूल्य ३२ करोड ४३ लाख पाँच हजार ४७१ रुपैयाँ चार पैसा नोक्सानी भएको छ ।
कुल ३८,७६९ मेट्रिक टन क्लिंकरको लागत मूल्य ४६ करोड ५२ लाख ७४ हजार ४२६ पैसाको सार्वजनिक सम्पत्ति क्लिंकर हिनामिना पारिएको अनुसन्धानबाट खुलेको छ । उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरजन्य कार्य भएको भन्दै अख्तियारले बिगो असुल गरी सजाय गर्न मागदाबी गरेको छ ।

अख्तियारले पौडेलसँग १२ करोड ४७ लाख २२ हजार २४२, तत्कालीन निमित्त महाप्रबन्धक साहसँग ४६ करोड ५२ लाख ७४ हजार ४२६, नायब महाप्रबन्धक काफ्लेसँग १२ करोड ६३ लाख ६९ हजार १६८ र अरू सबै प्रतिवादीसँग जनही ४६ करोड ५२ लाख ७४ हजार ४२६ रुपैयाँबराबर बिगो असुल र सजायको माग गरेको छ ।

FACEBOOK COMMENTS