काठमाडौं । महिला सिर्जनशील केन्द्रको आयोजना तथा राइजिङ नेपाल प्रा.लिको व्यवस्थापनमा आयोजित २३औँ सिर्जनशील उद्यमी मेलाको आज समापन हुँदैछ।
८० भन्दा बढी स्टल रहेको मेलामा विभिन्न महिला उद्यमी तथा व्यवसायीका उत्पादन तथा सामग्री प्रदर्शन तथा बिक्रीका लागि राखिएका छन्। मेलामा निःशुल्क मेहेन्दी लगायत विभिन्न उपहार कार्यक्रमसमेत सञ्चालन भइरहेका छन्।
मेलाको उद्घाटन काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले गरेकी थिइन् । उद्घाटन कार्यक्रममा लामो समयदेखि उद्यमशील क्षेत्रमा सक्रिय ५ जना महिला उद्यमीलाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा सभासद् बसुमाया तामाङ पनि रहेकी छिन् ।
२३ वर्षदेखि निरन्तर रूपमा मेलामा सहभागी हुँदै आएका महिला उद्यमीलाई विशेष सम्मान गरिएको आयोजकले जनाएको छ।
हालसम्म मेलामा करिब ७ हजार जनाले अवलोकन गरिसकेका छन्। आज मेलाको अन्तिम दिन भएकाले थप ३ देखि ४ हजार दर्शक तथा उपभोक्ताले मेला अवलोकन गर्ने अपेक्षा आयोजकले गरेको छ।

महिला उद्यमशीलता, स्थानीय उत्पादन तथा स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको यस मेलाले महिला उद्यमीलाई आफ्ना उत्पादन बजारसम्म पुर्याउन महत्वपूर्ण अवसर प्रदान गर्दै आएको छ।