काठमाडौँ । आगामी मङ्गलबारदेखि राजधानीमा आयोजना हुने नेपाल १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको तयारी पूरा भएको छ ।
औद्योगिक प्रदर्शनी फागुन २ देखि ६ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुन लागेको हो । स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएको छ ।
कोरोना महामारीका कारण विगत तीन वर्षदेखि स्थगित भएको औद्योगिक प्रदर्शनी यसपटक “नेपाल १६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङगारिक कृषि मेला–२०७९” नामबाट आयोजना हुनेछ ।
देशभरका झण्डै छ लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरु र कृषि व्यवसायमा संलग्न उद्यमीहरुलाई प्रतिबिम्बित गर्ने प्रदर्शनीको मुख्य नारा ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘मिहनेत, श्रृजना, उत्पादन र वस्तु मैरै नेपालको’ भन्ने रहेको छ ।
देशमा लघु घरेलु तथा साना उद्योगहरू आर्थिक विकास र समृद्धिका संवाहकका रुपमा रहेको भएपनि पुरातन प्रविधिको प्रयोग र अन्य क्षमता विकासका हिसाबले यस्ता उद्योगहरु प्रतिस्पर्धी बन्न नसकेका कारण आकर्षक प्रतिफल दिन नसकेको महासंघको भनाइ छ । जसले गर्दा हाम्रा युवा पुस्ता यस्ता उद्योगप्रति आकर्षित हुन नसकेको समेत महासंघको ठम्याइ छ ।
महासंघका अनुसार यिनै पक्षलाई सम्बोधन गरी एक अर्काबाट सिक्न तथा ज्ञान र सीप आदान प्रदान गर्ने उद्देश्यका साथ लघु, घरेलु तथा साना उद्योगको छाता संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघले धेरै अगाडिदेखि नै नियमित रुपमा राष्ट्रिय, प्रदेश तथा जिल्लास्तरमा औद्योगिक प्रदर्शनीहरु आयोजना गर्दै आएको छ । विगत केही वर्षदेखि राष्ट्रिय औद्योगिक प्रदर्शनीलाई अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको रुपमा आयोजना गर्न शुरु गरेको मेला संयोजक शोभा गुरुङले बताइन् ।
‘तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार प्रवर्द्धन समेत गरिने यस मेलाले मुलुकका लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरुको वर्तमान अवस्थालाई उजागर गर्नेछ । साथै नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी, बीटुजी जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि कार्यक्रम प्रदर्शनीका थप आकर्षण हुनेछन्’, उनले भनिन् ।
मेलाले अर्गानिक उत्पादनहरुका बारेमा आम नागरिकलाई सचेतना गराउने महासंघको भनाइ छ । सहज रुपमा अर्गानिक उत्पादनहरु उपलब्ध गराउन यस्ता उत्पादनको विक्रि वितरणलाई सहयोग पु¥याउने उद्देश्यका साथ अर्गानिक एसोसियसनसँगको सहकार्यमा कृषिका अर्गानिक उत्पादनहरुको छुट्टै प्याभिलियनमार्फत प्रदर्शनी गरिने व्यवस्था गरिएको समेत महासंघले बताएको छ ।
प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा चीनको सहभागिता रहनेछ । सो प्रदर्शनीमा २०० वटा स्टलको व्यवस्था हुने र दुई लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । मेलामा रु सात करोडभन्दा बढीको आर्थिक कारोबार हुने प्रक्षेपण गरिएको महासंघका महासचिव डम्बरप्रसाद रेग्मीले बताए ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा हुने यस मेलाको सह–आयोजकको रुपमा अर्गानिक एसोसियसन अफ नेपाल, नेपाल सरकार, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय– व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, बागमती प्रदेश सरकार, वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र, नेपाल पर्यटन बोर्ड आदि रहनेछन् । त्यसैगरी अन्य सरकारी निकाय तथा गैरसरकारी संघसंस्थाहरु यसका प्रवर्द्धक र सहयोगी रहनेछन् ।
FACEBOOK COMMENTS