काठमाडौं । कर्पोरेट म्यागजिन तथा कर्पोरेट खबर डटकमका संस्थापक सम्पादक उज्वल जंग शाह सम्मानित भएका छन् ।
न्यूजलाइन्स मिडियाले आफ्नो नवौँ वार्षिकोत्सवको अवसरमा सम्पादक शाहलाई ‘पत्रकारिता सम्मान २०८१’ बाट सम्मान गरेको हो ।
पत्रकारिता क्षेत्रमा विगत २५ वर्षदेखि निरन्तर क्रियाशील रहँदै समाजलाई अतुलनीय योगदान पु¥याएबापत शाहलाई सो सम्मान गरिएको न्यूजलाइन्स मिडियाले जनाएको छ । ‘उहाँको पेशागत प्रतिबद्धता र योगदानको उच्च मूल्याङ्कन गर्दै सो सम्मान प्रदान गरिएको हो,’ न्यूजलाइन्स मिडियाका अध्यक्ष तथा कार्यकारी निर्देशक राजु भट्टले भने ।
न्यूजलाइन्स मिडियाका अध्यक्ष राजु भट्टको संयोजकत्व र मिडियाकी प्रबन्ध निर्देशक रिता ढकालको सभापतित्वमा आज शुक्रबार डाडाँ गाउँस्थित ग्रिन भ्याली रिसोर्टमा वार्षिकोत्सव समारोह आयोजना गरिएको थियो । कार्यक्रममा नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा प्रमुख अतिथिका रूपमा कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो । सोही अवसरमा पूर्वउपराष्ट्रपति झाले सञ्चारकर्मी, पर्यटन व्यवसायी, नृत्यकला निर्देशक, समाजसेवीहरूलाई पनि सम्मान गरेका छन् ।
सम्मान प्राप्त गर्नेहरूमा सचेतना कार्यक्रम नेपाल टेलिभिजनका कार्यक्रम प्रस्तोता एवम् निर्देशक सरोज ओझा, दैनिकी डटकमका प्रधान सम्पादक माधव तिवारी, रातोपाटीका समाचार सम्पादक राजकुमार सिग्देल, सञ्चारकर्मी डीबी पराजुली, राष्ट्रिय समाचार समितिका कृष्णराज गौतम, ऐक्यबद्धता मासिककी सम्पादक मिना तिवारी घिमिरे, रेड मिडियाकी सञ्चालक विष्णुमाया पौडेल र हिमालय टाइम्स दैनिकका बजार व्यवस्थापन प्रमुख रवीन्द्र बाराही छन् ।
त्यस्तै, पर्यटन व्यवसायीहरू नानुकाजी अर्याल, खुसी गुरुङ, कृष्ण बस्याल, हरेराम कार्की, र नृत्य निर्देशक प्रमिला रिजाल, समाजसेवामा योगदान दिने लाइन्स राजेशदास हिमालय, प्रेम पुरी र कुमारी बाठा मगर पनि सम्मानित भएका छन् । प्रथम उपराष्ट्रपति झाले सम्मानितहरूलाई सम्मानपत्र प्रदान गरे ।
पूर्वउपराष्ट्रपति झाले वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै न्यूजलाइन्स मिडियाले समाजलाई सशक्त र सचेत बनाउने अभियानमा पु¥याएको योगदानको प्रशंसा गरे । ‘सञ्चारमाध्यम समाजको दर्पण हो । यसले सत्य र तथ्य उजागर गर्दै देशको समृद्धिमा टेवा पु¥याउन महत्वपूर्ण भूमिका खेल्छ,’ उनले भने, ‘न्यूजलाइन्स मिडियाले नौ वर्षको यात्रामा जुन इमानदारी र प्रतिबद्धता देखाएको छ, त्यसले यसको विश्वसनीयता अझै माथि पु¥याएको छ ।’
त्यसैगरी, न्यूजलाइन्स मिडियाकी प्रबन्ध निर्देशक रिता ढकालले आफ्नो सम्बोधनमा न्युजलाइन्स मिडियाको सफल यात्राका लागि सबै पाठक र शुभचिन्तकहरूप्रति कृतज्ञता व्यक्त गरिन् । ‘हाम्रो उद्देश्य सधैं सत्य समाचार र सकारात्मक सन्देश प्रवाह गर्नु नै हुनेछ । हामी आगामी दिनमा पनि अझ सशक्त भएर समाज र राष्ट्रको सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गर्दछौँ,’ उनले भनिन् ।
कार्यक्रममा न्युजलाइन्स मिडियाका सल्लाहकार रामप्रसाद न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डे, सोफा उत्पादक संघका केन्द्रीय अध्यक्ष तारालाल धरेल, काठमाडौँ उद्योग वाणिज्य संघकी सचिव सुष्मा महरालगायत अतिथिहरूले न्यूजलाइन्स मिडियाको योगदानको प्रशंसा गर्दै संस्थालाई आगामी दिनमा थप सफलताको शुभकामना व्यक्त गरेका छन् ।
FACEBOOK COMMENTS