काठमाडौँ । यूक्रेनी राष्ट्रपति भोलोदिमीर ज़ेलेन्स्कीले रूसले यूक्रेनमाथि ५० वटा मिसाइल र २९७ वटा ड्रोन प्रयोग गरी आक्रमण गरेको दाबी गरेका छन् । उनले तीमध्ये अधिकांश मिसाइल र ड्रोनलाई युक्रेनी वायु प्रतिरक्षा प्रणालीले खसाल्न सफल भएको बताएका छन् ।
ज़ेलेंस्कीले यसपटक रूसले ऊर्जा केन्द्रसँगै रसद आपूर्ति संरचनालाई पनि निशाना बनाएको उल्लेख गरेका छन् । विशेषगरी रेल सेवा र पानी आपूर्ति प्रणालीमा आक्रमण केन्द्रित गरिएको उनको भनाइ छ । उनले क्षेत्रीय प्रतिनिधिहरूसँग छलफल गर्दै रूसी आक्रमणबाट जोगिने संयन्त्र अझ सुदृढ गर्नुपर्ने र बदलिँदो रणनीतिलाई ध्यानमा राख्नुपर्ने बताएका छन् ।
उनका अनुसार किभ क्षेत्रको बोरीस्पिल जिल्लामा रहेको एक चर्च रूसी आक्रमणबाट क्षतिग्रस्त भएको छ भने अन्य स्थानमा सर्वसाधारणका घरहरूमा पनि क्षति पुगेको छ । प्रभावित नागरिकलाई सहायता उपलब्ध गराइएको जनाउँदै उनले सुमी क्षेत्रमा सुरक्षालाई थप मजबुत बनाउन रक्षा मन्त्रालयलाई अतिरिक्त बल परिचालन गर्न निर्देशन दिएको जानकारी दिएका छन् ।
यसअघि शोस्तका जिल्लामा रूसी ड्रोन आक्रमणमा एम्बुलेन्स लक्षित हुँदा तीन जनाको मृत्यु भएको पनि ज़ेलेंस्कीले दाबी गरेका छन् ।
राष्ट्रपति ज़ेलेंस्कीले युक्रेनलाई निरन्तर वायु प्रतिरक्षा मिसाइल उपलब्ध गराइरहेका सहयोगी राष्ट्रहरूलाई धन्यवाद व्यक्त गर्दै सुरक्षा सुदृढीकरण प्रत्येक दिन आवश्यक रहेको बताएका छन्।

FACEBOOK COMMENTS