काठमाडौं । दायाँबायाँ शंख, चक्र, घन्ट अनि बीचमा मन्दिर । झट्ट हेर्दा विश्व सम्पदा सूचीमा रहेको चाँगुनारायणको मन्दिर जस्तै देखिन्छ ।
मन्दिरको अगाडिपट्टि धरहरा ठडिएको छ भने वरिपरि काठमाडौं उपत्यकाको प्राचीन सम्पदा झल्किने विभिन्न आकृति सजाइएको छ ।
भक्तपुरको सल्लाघारीस्थित एमालेको ११औँ महाधिवेशन उद्घाटनस्थलको दृश्य हो यो । जहाँ बनाइँदैछ, महाधिवेशन उद्घाटनका लागि भव्य मञ्च । मञ्च व्यवस्थापनमा खटिएका एमाले भक्तपुर अध्यक्ष वचन देउजाका अनुसार मञ्च निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
आज साँझसम्म सबै काम सक्ने तयारी छ । ‘एमाले महाधिवेशनको जति चर्चा हुन्छ, त्यो भन्दा आकर्षणको केन्द्रमा मञ्च रहने गरेको छ ।
यो वर्ष पनि त्यस्तै छ,’ उनले भने, ‘पृष्ठभूमिमा विश्व सम्पदा सूचीमा रहेको चाँगुनारायणको मन्दिर छ । मन्दिरमै गए जस्तो हुन्छ ।’ भक्तपुरको सल्लाघारीमा १०८ रोपनी जग्गामा फैलिएको चौरमा एमालेले उद्घाटनस्थल बनाएको हो । ‘उद्घाटनस्थललाई साजसज्जा गर्ने काम भइरहेको छ ।

राम्रो बनाउन कुनै कसर बाँकी राखिएको छैन,’ अध्यक्ष देउजाले भने, ‘आधुनिक वस्तु प्रयोग गरेर प्राचीन झल्को दिने मञ्च बनेको छ ।’ उनका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका जीवनशैलीदेखि कला, संस्कृति र सम्पदा समेटिएको छ ।

‘पर्खालमा काठमाडौं उपत्यकाका तीनवटै शहरका ऐतिहासिक सम्पदालाई राखिएको छ । समाज आधुनिकतर्फ अगाडि बढे पनि प्राचीन सम्पदा जोगाउन र प्रबद्र्धन गर्न यस्तो मञ्च बनाएका हौँ,’ उनले भने ।

FACEBOOK COMMENTS