काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनका क्रममा बुधबार बिहानदेखि भइरहेको मतदानका क्रममा एक जना मतदाताले मतदान गर्न २ घन्टा ५ मिनेट समय लगाएका छन् ।
३०१ सदस्यका लागि गर्नुपर्ने मतदानका क्रममा एक जना मतदाता नाम खोज्दाखोज्दै बेहोस भएको स्रोतले जानकारी दिएको छ । एमालेमा नयाँ नेतृत्व चयनका लागि बुधबार बिहान ९ बजेर १२ मिनेटबाट मतदान सुरु भएको हो । अहिले मतदान जारी रहेको छ ।
बेलुका ५ बजेर २ मिनेटसम्म करिब ८ घन्टामा बल्ल ८ सय २ मतदाताले मतदान गरेका छन् । यस हिसाबले सय जनाले मतदान गर्न १ घन्टा लाग्ने देखिएको छ ।
एमालेका कुल प्रतिनिधि २ हजार २ सय ६३ भएकाले सबैले मतदान गरे करिब २२ घन्टाम लाग्ने देखिएको छ ।
काठमाडौँको भृकुटीमण्डपमा जारी मतदानमा ८० विद्युतीय भोटिङ मेसिनबाट मतदान भइरहेको हछ । एमालेको १९ पदाधिकारीसहित ३ सय १ सदस्यीय केन्द्रीय कमिटीका लागि ६ सय ४२ उम्मेदवार प्रतिस्पर्धामा छन् । मतदानका लागि साँझको ८ बजेसम्म मतदान स्थानमा प्रवेश गरिसक्नुपर्ने एमाले केन्द्रीय निर्वाचन आयोगले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS