काठमाडौं । एमालेले १०औं महाधिवेशनबाट सहमतिमा केन्द्रीय नेतृत्व चयनको तयारी गरेको छ । सहमतिमै वडा र पालिका अधिवेशन सम्पन्न भइसकेका छन् । चितवनमा मंसिर १० देखि १२ गते सम्म हुने महाधिवेशनलाई सहमतिको महाधिवेशन बनाइने नेताहरू बताउँछन् । जसका लागि शनिबार एकैदिन देशभरबाट प्रतिनिधि चयन गर्ने तयारी रहेको एमालेले जनाएको छ ।
कतिपय स्थानमा भने सर्वसम्मत रूपमा प्रतिनिधि चयन भइसकेका छन् । ललितपुरमा सम्पन्न पार्टीको विधान महाधिवेशनबाट विधि र नीति पारित गरिसकेकाले अब एमाले नेतृत्व चयनमा केन्द्रित हुनेछ । महासचिव ईश्वर पोखरेलले नेतृत्व चयन सहमतिमै हुने स्पष्ट पारेका छन् । विगतभन्दा पृथक् ढंगले महाधिवेशन हुने दाबी महासचिव पोखरेलले गरे। ‘हामी सहमतिमै नेतृत्व चयन गर्छौं’, शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पोखरेलले भने, ‘विधान महाधिवेशन पनि सर्वसम्मतिबाटै सक्यौं। वडा र पालिकाका अधिकांश अधिवेशन सर्वसम्मतिमा भए। प्रतिनिधि चयन पनि सर्वसम्मतमै गर्दै छौं।’
प्रचार विभाग प्रमुख एवं सचिव योगेश भट्टराईले पनि सहमतिमै केन्द्रीय नेतृत्व चयन हुने बताए। ‘विधान महाधिवेशन पनि सर्वसम्मत ढंगबाटै भयो’, पत्रकार सम्मेलनमा नेता भट्टराईले भने,‘नेतृत्व पनि सहमतिबाटै हुन्छ।’
पार्टीको आन्तरिक समीकरण र राजनीतिक ध्रुवीकरणले अध्यक्षमा केपी शर्मा ओली नै सर्वसम्मत हुने देखिन्छन्। तर, पदाधिकारी र केन्द्रीय सदस्यमा धेरै आकांक्षी देखिएका छन्। उनीहरूको व्यवस्थापनमा भने जटिलता देखिन्छ । राष्ट्रिय राजनीतिलाई सही दिशामा डोर्याउन पनि एमालेमा ओलीको नेतृत्व आवश्यक रहेको पोखरेलले बताए। राजनीतिक स्थिरताका लागि पनि एमालेको नेतृत्वमा सबै गोलबन्द हुुनुपर्ने उनको तर्क छ ।
सत्ता बहिर्गमनदेखि पार्टी विभाजनसम्मको धक्का व्यहोरेको एमालेलाई पार्टी एकढिक्का देखाउन पनि सहमतीय प्रणाली आवश्यक रहेको नेताहरू बताउँछन्। अध्यक्षमा ओली निर्विकल्प देखिएको दाबी गरिए पनि उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालले उक्त पदमा उम्मेदवारी दिन सक्ने संकेत देखिएको छ। नेता रावलले गृहजिल्ला अछाममा आयोजित कार्यक्रममा अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरेका थिए । उपमहासचिव भुसालले भने मुख खोलेका छैनन् ।
महाधिवेशनबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष, १ महासचिव, १ उपमहासचिव र ७ सचिवसहित १५ पदाधिकारी निर्वाचित हुनेछन्। ४५ स्थायी समिति सदस्यसहित २ सय २५ जनाको केन्द्रीय कमिटी रहने व्यवस्था नयाँ विधानमा छ। यो महाधिवेशनमा अध्यक्षसहित पदाधिकारी मात्रै होइन केन्द्रीय सदस्यसमेत सहमतिमै चयन गर्ने तयारी नेतृत्वले गरिरहेको आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS