काठमाडौं । एघारौँ महाधिवेशनको तयारीमा रहेको नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आगामी १५ गते बस्ने भएको छ ।
बैठकले महाधिवेशनसँग सम्बन्धित विभिन्न निर्णय गर्ने पार्टीले जनाएको छ । असोज २९–३१ मा भएको एमालेको केन्द्रीय कमिटी बैठकले एघारौँ महाधिवेशन पोखरामा मंसिर २७–२९ मा गर्ने निर्णय गरेको छ ।
पार्टीका कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार कार्तिक १५ गते पार्टीको सचिवालय बैठकबाट महाधिवेशनका बारेमा विभिन्न निर्णय गर्ने तयारी छ ।
बैठकले महाधिवेशन प्रतिनिधि छनौट विधि,महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन, स्थानीय आयोजकसँग समन्वय आदिका बारेमा निर्णय गर्ने सचिवालयका एक नेताले जानकारी दिएका छन् । ती नेताका अनुसार सो बैठकले महाधिवेशन तयारीको पूर्ण खाका सार्वजनिक गर्नेछ । बैठकले महाधिवेशनको लोगो र नाराका विषयमा पनि छलफल गर्नेछ ।
पार्टीको गण्डकी प्रदेश कमिटी,कास्की जिल्ला कमिटी र पोखरा महानगर कमिटीले महाधिवेशनको प्रारम्भिक तयारी सुरु गरिसकेका छन् ।
भदौ २४ गतेको विध्वंसमा च्यासल स्थित केन्द्रीय कार्यालय जलाइएपछि सोही ठाउँमा पाल टाँगेर अस्थायी कार्यालय सुरु गरिएको छ । उक्त कार्यालयबाट दैनिक कामका अतिरिक्त महाधिवेशन केन्द्रित काम पनि सुरु गरिएको डा. अधिकारीले जानकारी दिए ।

FACEBOOK COMMENTS