काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विधान महाधिवेशन शुक्रबार ललितपुरको गोदावरीस्थित सनराइज केन्द्रमा सुरु हुँदैछ। आठौं र नवौं महाधिवेशनमा नीतिभन्दा बढी नेतृत्वमा रस्साकस्सी भएकाले नीति र विधि टुंग्याउन एमालेले पहिलो पटक विधान महाधिवेशन गर्न लागेको हो।
विधान महाधिवेशन सकिएपछि एमालेले दसौं महाधिवेशनबाट नेतृत्व चयन गर्ने भएको छ। ‘नीति र विधि टुंग्याएर मात्रै नेतृत्वका लागि दसौं महाधिवेशन हुनेछ’, महाधिवेशन व्यवस्थापन समितिका संयोजक एवं स्थायी कमिटी सदस्य रामबहादुर थापाले भने। दसौं महाधिवेशनपछि पार्टीको नीतिगत स्वरूप कस्तो बनाउने भन्ने मुख्य अजेन्डा र नेतृत्वको स्वरूप निर्धारण गर्नेगरी एमालेकै इतिहासमा पहिलोपटक विधान महाधिवेशन हुन लागेको थापाले बताए।
थापाले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको बताए। उद्घाटन सत्रपछि बन्द सत्रमा केन्द्रीय कमिटीका तर्फबाट अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नेछन्। यस्तै महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव पेस गर्नेछन्। बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव पेस गर्नेछन्।
महाधिवेशनबाट एमालेले आगामी चार वर्षका लागि नीतिगत धारणा पास गर्नेछ। ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन, पोखरेलको संगठनात्मक प्रस्ताव र पौडेलको विधान संशोधन प्रस्ताव महाधिवेशनले पारित गर्नेछ। यी तीनवटै दस्तावेजमाथि एमालेको स्थायी कमिटी र केन्द्रीय कमिटीमा छलफल भएको थियो। स्थायी कमिटी र केन्द्रीय कमिटीबाट सुझावसहित पारित प्रतिवेदन महाधिवेशनको हलमा लगिनेछ। महाधिवेशनलाई सफल बनाउन विभिन्न भ्रातृ संगठनबाट स्वयंसेवक परिचालन गरिएको विधान महाधिवेशन आयोजक कमिटी सदस्य एवं मिडिया संयोजक खिमलाल भट्टराईले बताए।
भट्टराईका अनुसार महाधिवेशनमा केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्य, केन्द्रीय निकाय, विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्रका प्रतिनिधि, संघीय र प्रदेशका सांसद, स्थानीय तहका प्रमुख तथा उपप्रमुख र केन्द्रले मनोनीत गर्ने १० प्रतिशतसमेत गरी करिब ६ हजार प्रतिनिधि सहभागी हुनेछन्। ‘भूगोल, जनसंगठन, पेसागत संगठन, प्रवास संगठनबाट सहभागी हुने प्रतिनिधि छनोट भएको छ, समावेशी सिद्धान्तका आधारमा महिला, दलित, जनजातिको पनि उल्लेख्य सहभागिता रहनेछ’, उनले भने। उनका अनुसार विभिन्न स्थानमा डिजिटल बोर्डबाट महाधिवेशनका गतिविधि प्रत्यक्ष प्रसारण गरिने आजको नागरिक दैनिकमा समाचार छ ।
