काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले राष्ट्रियसभाका लागि ६ जना उम्मेदवारको टुङ्गो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले ६ उम्मेदवारको टुङ्गो लगाएको एक नेताले जानकारी दिए । उनका अनुसार रोशनी मेचे, प्रेम दंगाल, सम्झना देवकोटा, रामकुमारी झाँक्री, मिना रखाल र लीला भण्डारीलाई राष्ट्रियसभाको उम्मेदवार बनाउने तय भएको छ ।
राजनीतिक दलहरूबिच कांग्रेस र एमालेले ७–७ सिट, नेपाली कम्युनिस्ट पार्टीले ३ सिट र जसपा नेपालले १ सिट लिने गरी सहमति भएको बताइएको छ । एमालेले ६ उम्मेदवार छाने पनि एक उम्मेदवार छान्न बाँकी रहेको बताइएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरूको मनोनयन हुने भएको छ । निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो ।
आयोगले यसअघि यही पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ । यस्तै, मंगललबार मतदाता नामावलीमा कुनै दाबी विरोध भए नभएको यकिन गरी अन्तिम मतदाता नामावली पनि सार्वजनिक गरिसकेको छ । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।
झाँक्री राष्ट्रिय सभाको उम्मेदवार बन्दै
काठमाडौँ । नेकपा एमालेकी नेतृ रामकुमार झाँक्री राष्ट्रिय सभाको उम्मेदवार बन्ने भएकी छन् ।
एमालेले झाँक्रीलाई लुम्बिनी प्रदेशको महिला क्लस्टरबाट उम्मेदवार बनाउने भएको हो । एकीकृत समाजवादीकी पुर्व नेतृ झाँक्री एमाले प्रवेश गरेपछि हालै सम्पन्न महाधिवेशनमा लोकप्रिय मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् ।

झाँक्रीले गुल्मी–२ बाट प्रत्यक्ष निर्वाचन लड्ने चाहना राखेपनि सो क्षेत्रमा पार्टी उपाध्याक्ष गोकर्ण विष्टनै उम्मेदवार बन्ने भएपछि उनलाई राष्ट्रिय सभामा उम्मेदवार बनाइएको हो । अध्यक्ष केपी शर्मा ओलीले झाँक्रीलाई राष्ट्रिय सभामा जान आग्रह गरेपछि उनले आज दाङ पुगेर उम्मेदवारी दर्ता गर्ने तयारी गरेकी छन् ।

राष्ट्रिय सभाका १८ सिटका लागि माघ ११ गते हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको कार्यतालिका रहेको छ । यस निर्वाचनमा एमाले, काँग्रेस, नेकपा र जसपा नेपालले तालमेल गरेर जाने बताए पनि अहिलेसम्म सहमति हुन नसकेको बुझिएको छ । यस अघि कांग्रेस र एमालेले ७–७ सिट लिने, त्यस्तै नेकपाले ३ र जसपाले एक सिट लिने गरि छलफल भएको बताइएको छ । चारै दलबीच अहिले पनि छलफल जारी रहेको छ ।

FACEBOOK COMMENTS