काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेकपा एमालेले आगामी १५ गचे आयोजना गर्ने भनिएको विशाल जनप्रदर्शनलाई सफल पार्न नेताहरूलाई विभिन्न जिम्मेवारी दिएको छ ।
आज सोमबार बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा भएको भेलामा नेताहरूको शक्ति परिचालन गर्नका लागि नेताहरूको जिम्मेवारी बाँडफाँटको सूची जानकारी गराइएको हो ।
जनसंगठनका अध्यक्ष, इन्चार्ज र काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका वडा तहसम्मका पदाधिकारीहरूको भेलामा महासचिव शंकर पोखरेलले नेताहरूको जिम्मेवारी बाँडफाँटको जानकारी गराएका हुन् । उनका अनुसार काठमाडौं जिल्लाबाट व्यापक मात्र जनमानस परिचलान गर्नका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।
जनसंगठनहरूको संयोजन गर्नका लागि सचिव गोकर्ण विष्टलाई जिम्मेवारी दिइएको छ । विष्टलाई सबै जनसंगठनका इन्चार्जहरूले सघाउनेछन् । एमालेमा ठूलो जनधार भएको संगठनको रूपमा रहेको सम्पर्क समन्वयको संयोजनको जिम्मेवारी विभिन्न भूगोल अनुसार फरक–फरक नेताहरूलाई दिइएको छ ।
जस अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेश समन्वयको जिम्मा सचिव लेखराज भट्ट बागमती प्रदेशका जिल्लाहरूको जिम्मा उपमहासचिव प्रदलीप ज्ञवालीलाई दिइएको छ ।
लुम्बिनी र गण्डकीका सबै जिल्ला समन्वयको जिम्म सचिव पद्मा अर्याललाई तोकिएको छ । कोशी प्रदेशका जिल्लाहरूको समन्वय गर्न उपाध्यक्ष रामबहादुर थापालाई जिम्मेवारी दिएको छ । मधेश प्रदेशका आठवटै जिल्लाका सम्पर्क मञ्चहरूको समन्वय गर्न उपाध्यक्ष युवराज ज्ञवालीलाई जिम्मेवारी दिइएको छ ।
उपत्यकाका जनप्रदर्शनमा ठूलो सङ्ख्यामा सहभागी गराउने ललितपुर र भक्तपुरको समन्वय गर्न उपाध्यक्षहरू क्रमशः अष्टलक्ष्मी शाक्य र गुरु बराललाई जिम्मेवारी तोकिएको छ । उपत्यकाबाहेक बागमती प्रदेशका १० वटा जिल्लाको समन्वयको जिम्मेवारी उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई दिइएको छ ।
स्वयंसेवक परिचालनका लागि उपमहासचिव एवम् प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई जिम्मेवारी दिइएको छ । उपत्यका विशेषको संयोजन सचिव योगेश भट्टराईलाई दिइएको छ । सबै विभागको संयोजनको जिम्मेवारी सचिव छविलाल विश्कर्मालाई दिइएको छ ।
गणतन्त्र दिवसका दिन जेठ १५ गते विहान ११ बजे भृकुटी मण्डपमा एमालेका नेता कार्यकर्ता झाँकी र जुलुस र आफ्नो पार्टी, जनसंगठनको पहिचानसहित उपस्थित हुन पनि आजको भेलाले निर्देशन गरेको छ । हिजोको सचिवालय बैठकले जेठ १५ गते काठमाडौंसहित सबै पालिकाहरूमा गणतन्त्त दिवस भव्यताका साथ मनाउने निर्णय गरेको हो ।
महासचिव शंकर पोखरेलका अनुसार गणतन्त्र दिवसलाई आम जनताले सम्झने गरी मनाउन र राजावादीहरूले फैलाएका भ्रमहरू चिर्नका लागि जनप्रदर्शनको तयारी गरिएको हो । सोही दिन राजावादीहरूको संयुक्त जनआन्दोलन समितिले पनि जनआन्दोलन सुरू गर्दैछ ।
FACEBOOK COMMENTS