चितवन । एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनपछि पार्टी निर्वाचनको तयारीमा लाग्ने बताएका छन् ।
चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा शुक्रबार पार्र्टीको १०औं राष्ट्रिय महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई चुनाव लागेको र आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउने बताएका हुन्। ‘निकट भविष्यमा हुने चुनावमा एमालेले बहुमत ल्याउनेछ’,ओलीले भने।
ओलीले विगतमा आफू नेतृत्वको सरकार जनताबीच जान चाहे पनि त्यसमा विभिन्न पक्षबाट कुठाराघात भएको बताए। ‘हामीले जनताबीच जाने बाटो चाहेका थियौं, त्यसलाई रोकेर परमादेश ल्याइयो’,ओलीले भने, ‘एमालेका लागि होइन,यो देशको रक्षाका लागि पनि एमालेले अब हुने चुनावमा बहुमत ल्याउनुपर्छ, ल्याउँछ।’ उनले तीनवटै तहको चुनाव जित्ने मात्र नभई बहुमत ल्याउने हिसाबले एमालेले तयारी गरिरहेको बताए। विगतमा आफू नेतृत्वको सरकारले गरेका र सुरु गरेका कामबारे जनतालाई बुझ्ने गरी बताउनु आवश्यक रहेको औंल्याउँदै उनले अब निर्वाचनमा यही तयारीका साथ लाग्ने बताए।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति निकै आक्रामक देखिएका ओलीले पहिला माओवादी नेतृत्वको सरकारले पूर्वलडाकुको माग सम्बोधन नगरेको र उनीहरूका समस्या समाधानमा चासो नदिएको आरोप लगाए।
उनले अहिले पनि माओवादी सरकारमा छ तर त्यसका अध्यक्ष दाहालले घाइते अपांग,पूर्वलडाकुका लागि केही काम नगरेको बताए। ‘समय हुँदा लडाकुको व्यवस्थापन भएन, १० हजार दिएर टारिएको यो समस्यामा प्रचण्ड९दाहाल० किन मौन बसे, अब यसको व्यवस्थापन र समस्याको समाधन पनि एमालेले गर्छ’,ओलीले भने।
ओलीले नेपालको नयाँ नक्सामा समेटिएको लिम्पियाधुरा,लिपुलेक र कालापानीको जमिन भारतसँग संवादका माध्यमबाट फिर्ता लिनुपर्ने बताए। सबै छिमेकी राष्ट्रहरूसँग सहकार्य गरेर, समदूरी कायम राखेर अघि बढ्नुपर्नेमा उनले जोड दिए। ‘लिम्पियाधुरा, लिपुलेक र कालापानीको हाम्रो भूगोल हामीले नेपालको नक्सामा समेटेका छौं। त्यसलाई संविधानको अंग बनाएका छौं’,उनले भने, ‘त्यो जमिन हामीले फिर्ता लिनुपर्नेछ।’
प्रधानमन्त्रीलाई नै कार्यक्रममा बोलाएकाले अहिलेको सरकारका बारेमा केही टिप्पणी गर्न नचाहेको उनले बताए। ‘मेरो खुट्टा तान्नेहरूले अहिले उहाँको खुट्टा समाइरहेका छन्’, ओलीले भने, ‘उहाँले पनि काम गर्न सक्नुभएको छैन होला।’ ओलीले अब विश्वका सबै मुलुकसँग सहकार्यका साथ अघि बढ्नुपर्ने बताए। एमालेले कसैलाई पनि शत्रु र मित्रुका रूपमा नलिएको र आपसी समझदारी तथा सहकार्यबाट अघि बढ्न चाहेको उनले बताए। ‘सबैसँग मित्रता भन्ने हाम्रो मूल नीति हो, हाम्रा छिमेकीहरूसँग कतिपय कुरा छलफल गरेर टुंग्याउनुपर्नेछ’,उनले भने।
उनले एमाले सधैं सहअस्तित्व र सहकार्य, सामाजिक न्याय र समानताको पक्षमा रहेको र त्यसैका माध्यमबाट राष्ट्रिय एकता कायम राख्नुपर्ने बताए। एमालेले राष्ट्रिय स्वाधीनता र एकता चाहेको उनले बताए। आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुनुपर्नेमा ओलीले जोड दिए।
ओलीले १० औं महाधिवेशनले सहमति वा लोकतान्त्रिक विधि जसरी भए पनि पार्टीमा उच्चस्तरको समझदारी र एकता गरी नेतृत्व चयन गर्ने बताए। अर्को पाँच वर्ष देशलाई दिशानिर्देश गर्ने, देश हाँक्ने एकताबद्ध नेतृत्व निर्माण गरेर महाधिवेशन हलबाट आफूहरू निस्कने विश्वास उनले दिलाएको आजको नागरिक दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS