चितवन । सत्ताच्युत र पार्टी विभाजनको दोब्बर चोट पुरिएको सन्देश दिँदै एमालेले १०औं राष्ट्रिय महाधिवेशनलाई शक्ति प्रदर्शनको उत्सव बनाएको छ। चितवनको नारायणी नदीकिनार शुक्रबार मानवसागरमय बनेको छ। महाधिवेशन उद्घाटन समारोह कुम्भमेलासरह देखिएको छ।
नदी वारि–पारि र पुलबाट पनि हेर्न मिल्ने गरी भव्य मञ्च बनाइएको थियो। ठाउँठाउँमा राखिएका ठूलाठूला डिस्प्ले स्क्रिनका सहायताले सर्वसाधारणले नेताका मन्तव्य नियालेका थिए। मञ्चलाई देखिने ठाउँसम्मै टेकिनसक्नु भीड थियो। देशका विभिन्न ठाउँबाट लाखौं जनसमुदाय चितवन आएका थिए।
त्यही भव्यताबीच अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गरेका छन्। अध्यक्ष ओलीले रिमोट थिचेर झन्डोलोत्तन गरे– पार्टीको झन्डा, राष्ट्रिय झन्डा र सूर्य चिन्हको झन्डा । यस महाधिवेशनलाई एमालेले भव्य मात्र होइन, निकै व्यवस्थित बनाउने प्रयास गरेको देखिएको छ। महाधिवेशनस्थलमा हवाईजहाजबाट पुष्पवृष्टि गराइएको छ। समारोहस्थलमा विभिन्न जातजातिका झाँकी एवं नाचसहित सर्वसाधारण पुगेका थिए।
नदीको पूर्व उद्घाटनस्थलबाट पुलसम्म सहभागी खचाखच थिए। भीडभाडका कारण दिनभर यातायात र आवागमन ठप्प थियो। साथै, एमालेले महाधिवेशनका अवसरमा चितवन र नवलपुरमा विशाल जनप्रदर्शन गरेको छ।
प्रवक्ता प्रदीप ज्ञवालीले एमालेले भव्य र ऐतिहासिक रूपमा महाधिवेशन उद्घाटन गरेको बताए। महाधिवेशन उद्घाटनसत्र छोटो र व्यवस्थित पनि थियो। नेताहरूले लामो भाषण गरेनन्। अध्यक्ष ओलीले ५० मिनेट मात्रै सम्बोधन गरे।
उद्घाटनसत्रमा मूल महाधिवेशन व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा ‘बादल’ले स्वागत गरे। चितवन जिल्ला अध्यक्ष पार्वती रावलले समापन गरिन्। आठ नेताले बोले। ओलीको मन्तव्यअघि आठ मिनेटको वृत्तचित्र प्रदर्शन गरिएको थियो। त्यसमा अध्यक्ष ओलीको कार्यकालमा भएका कामको बेलिविस्तार लगाइएको थियो। नेतृत्वका लागि भएको यस महाधिवेशनमा एमालेले ओलीलाई पुनः निर्विकल्प नेताका रूपमा वृत्तचित्रमार्फत सन्देश दिएको छ।
एमालेले यो महाधिवेशनलाई चुनावमा केन्द्रित गरेको झल्को दिएको छ। नेताहरूले अब निर्वाचनमा बहुमतसहित पुनः सत्तामा फर्किने उदघोष गरेका छन्। अध्यक्ष ओलीले महाधिवेशन उद्घाटनसत्रलाई सम्बोधन गर्दै निर्वाचन केन्द्रित हुन निर्देशन दिए। उनले आगामी तीनै तहको निर्वाचनमा लाग्न कार्यकर्तालाई आह्वानसमेत गरे। उनले अब आमनिर्वाचनमा बहुमत ल्याएर पुनः सत्तामा फर्किई विकास र समृद्धिका बाँकी काम पूरा गर्ने बताए।
एमालेले यसअघि नै विधान महाधिवेशन गरेको थियो। जबजलाई मागदर्शक सिद्धान्तको रूपमा लिएको एमालेले नयाँ नेतृत्व चयनसँगै तीन महिनाका बीचमा दुई महाधिवेशन पूरा गर्ने आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS