काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रतिस्पर्धाबाट पार्टी नेतृत्व छनोट हुनुपर्ने बताएका छन् ।
सोमबार बागबजारस्थित एक होटलमा भएको अन्तरसम्वादमा उनले पार्टीलाई बलियो बनाउने आधार नै प्रतिस्पर्धा रहेको भन्दै पार्टी नेतृत्व प्रतिस्पर्धाबाट हुनुपर्ने बताएका हुन् ।
११ औँ महाधिवेशनका लागि अध्यक्षको उम्मेदवारी घोषणा गरेका पार्टीका वरीष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहका नेताहरू सहभागी अन्तर सम्वादमा केपी ओलीले आन्तरिक लोकतन्त्र धरासायी बनाएको आरोप लगाएका थिए ।
‘प्रतिस्पर्धाबाट पार्टी नेतृत्व छनौट हुनुपर्छ। तर पछिल्लो समय यो प्रकृयामा गम्भीर विचलन परेको छ’, उनले भने । पाण्डेले ओलीकै अगुवामा पार्टीको लोकतान्त्रीकरण गरिएको भए पनि अहिले त्यो प्रकृया ‘मास्ने’ काम भइरहेको बताए ।
उनले कानुनमा नै पार्टीमा दुई कार्यकालभन्दा बढी अध्यक्ष नहुने व्यवस्था गर्नुपर्ने बताएका छन् । एमाले मात्र नभएर अन्य पार्टीमा पनि र नयाँ भनिने पार्टीमा पनि लोकतान्त्रिक प्रकृया नरहेको भन्द उनले संविधानमा पार्टी नेतृत्वको समयावधि व्यवस्था गरिनुपर्ने बताए ।
FACEBOOK COMMENTS