काठमाडौँ — केन्द्रीय तथ्यांक विभागले १२ औं राष्ट्रिय जनगणनाको पहिलो चरणअन्तर्गत बुधबारबाट घर तथा घरपरिवार सूचीकरण सुरु गर्दै छ । त्यसका लागि देशभरमा ८ हजार ५ सय सुपरिवेक्षक खटिने छन् । विभागले नयाँ तालिका सार्वजनिक गरेलगत्तै सुपरिवेक्षकलाई तालिम दिएर खटाउने तयारी गरेको हो । सूचीकरण कार्यमा घरपरिवारमा अक्सर बसोबास गर्ने सदस्य महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्यासमेत विवरण भरिनेछ ।
सुपरिवेक्षकले प्रत्येक घरमा विवरण भर्नेछन् । घरपरिवारको बैंक खाता रहेरनरहेको, ऋणमा पहुँच, व्यावसायिक तालिम लिएरनलिएको ,व्यक्तिगत घरको प्रकार, घरको संख्या, तला र घरको प्रयोजन खुलाइनुका साथै प्रत्येक घर परिवारले पालेका पशु र पन्छीको संख्यासमेत उतारिनेछ । त्यसैगरी, सरकारी अनुदानमा बनेका घर, सामुदायिक भवन, त्यसको प्रयोजन, सरकारी कार्यालय भवन, व्यावसायिक तथा प्राविधिक शिक्षा तालिम, मन्दिर, वित्तीय संस्था, उद्योग, कलकारखानाको समेत विवरण लिइनेछ ।
सूचीकरण कार्य असोज १८ गतेभित्र सकिने र निर्धारित तालिकाअनुसार मूल जनगणना कात्तिक २५ गतेबाट मंसिर ९ गते सम्पन्न हुनेछ । त्यतिखेर ३९ हजार गणकले प्रत्येक घरपरिवारमा मूल प्रश्नावली सोध्ने छन् भने सुपरिवेक्षकले प्रत्येक वडा कार्यालयमा गई सामुदायिक प्रश्नावली भर्नेछन् ।
FACEBOOK COMMENTS