काठमाडौँ । ट्रेड युनियनको अन्तराष्ट्रिय संस्था युएनआई नेपाल अन्तर्गतको महिला र युवा समितिमा नयाँ नेतृत्व चयन भएको छ ।
युएनआई महिला समितिमा भगवती खड्काको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
यसैगरी, युएनआईको युवा समितिमा विरजित रोकायाको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्य समिति चयन भएको छ ।
काठमाडौँमा भएको महिला र युवा समितिको अधिवेशनले नयाँ कार्य समितिहरु चयन गरेको हो ।
यी दुबै अधिवेशनको संयुक्त उद्घाटन सत्रमा बोल्नुहुँदै युएनआईका एशिया प्रशान्त क्षेत्रीय महासचिव राजेन्द्र आचार्यले संसारभर कामको प्रकृतिमा आएको परिवर्तनलाई नेपाली महिला श्रमिक र युवा श्रमिकले राम्रोसँग अध्ययन गर्न जरुरी भएको बताए ।
उनले श्रम अधिकारको रक्षा गर्न नयाँ प्रविधिसँग जुध्न सक्ने र सामुहिक सौदावाजीको नयाँ तरीका अपनाउन सक्ने श्रमिक नेताको आवश्यकता भएको पनि उल्लेख गरे।
विश्वभर काम गर्नेहरुको काम खोसिँदै गएको अवस्थामा नेपालका श्रम संगठनहरु पनि चनाखो हुनुपर्ने उनको सुझाव थियो ।
कार्यक्रममा युएनआई नेपालका अध्यक्ष शंकरप्रसाद लामिछानेले सामुहिकतामा बल हुन्छ भन्ने कुरा अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।
उनले राजनीतिक विचारले श्रम संगठनहरु विभाजित हुँदा अधिकारको बारेमा वोल्ने आवाज कमजोर भएको उल्लेख गरे ।
FACEBOOK COMMENTS