काठमाडौं । ‘प्रविधिको सही प्रयोग गरौँ, लैंगिक हिंसा अन्त्य गरौँ ‘ भन्ने मुल नाराकासाथ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अबसर पारेर युएनआई नेपालको महिला समितिले आज काठमाडौँमा र्याली तथा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ ।
अन्तरक्रिया कार्यक्रममा नेपाली काँग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय (डिना)ले प्रविधिका कारणले बढ्दै गएको लैंगिक हिंसालाई घटाउन प्रविधिको प्रयोग बुझेर र आवश्यकता अनुसार मात्र गर्न सुझाव दिएका छन् । उनले नेपालमा नबुझेरै कतिपय मानिसले इन्टरनेटको गलत प्रयोग गर्दा हिंसाको शिकार भएको पनि उल्लेख गरेकी छन् ।
युएनआई एशिया–प्रशान्त क्षेत्रका महासचिव राजेन्द्र आचार्यले संसारभर प्रविधिका कारणले भएका हिंसाका घटनालाई कम गराउन ठूलो चुनौति रहेको बताए ।
युएनआई महिला समितिकी अध्यक्ष भगवती खड्काले नेपाली महिलाहरु खासगरी श्रमिक महिलाहरुको हक अधिकारको विषयमा कुरा उठाउँदा प्रविधिले निम्त्याएको समस्यालाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने बताए । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अहिले जारी रहेको छ ।
सन् १९८० को दशकदेखि नै विभिन्न मुलुकले महिलामाथि हुने हिंसा विरुद्धको दिवस मनाउँदै आएको भए पनि सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घले अनुमोदन गरेपछि महिलामाथि हुने हिंसा विरुद्धको विभिन्न अभियान सुरु भएको पाइन्छ ।

नेपालमा यो दिवस सन् १९९७ देखि विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन थालिएता पनि वि।सं।२०७५ कात्तिक २९ गतेको मन्त्रिपरिषद्को बैठकले हरेक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा विरुद्धको १६ दिने अभियान दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । यसैलाई प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले सबै समुदायदेखि तहसम्म विभिन्न गतिविधि र कार्यक्रम गरी यो दिवस मनाउँन थालिएको हो ।



FACEBOOK COMMENTS