काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ)ले ‘युनिभर्सल एसेप्टेन्स’ सम्बन्धी विश्वव्यापी अभियान तथा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा ‘ह्याकाथन नेपाल २०२६’ का लागि आधिकारिक रूपमा आवेदन खुला गरेको छ ।
अन्तर्राष्ट्रिय संस्था र सनवे कलेज काठमाडौंको सहकार्यमा आयोजना हुन लागेको यो कार्यक्रमले नेपाली भाषा र लिपिमा आधारित इन्टरनेट प्रणालीको विकासलाई प्राथमिकता दिएको छ । यस ह्याकाथनको मुख्य उद्देश्य सबैका लागि समावेशी र बहुभाषिक इन्टरनेट सुनिश्चित गर्नु हो ।
के तपाई नेपाली लिपिमा आधारित डोमेन नेम प्रयोग गर्न इच्छुक हुनुहुन्छ ? हाल इन्टरनेटमा अंग्रेजी भाषाको वर्चस्व रहेको अवस्थामा, नेपाली लगायत अन्य स्थानीय भाषाहरूमा पनि सजिलै इमेल र वेबसाइटहरू सञ्चालन गर्न सकिने वातावरण बनाउन यो अभियान सुरु गरिएको हो ।