काठमाडौं । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले बालुवाटार र च्यासलको शिरमा ‘बा’ को राज रहुञ्जेल उनका सगोत्री पार्टनरहरूलाई जे गर्न पनि छुट भएको टिप्पणी गरेका छन् ।
आफ्नो सचिवालयको सामाजिक सञ्जालमा टिप्पणी गर्दै यादवले राजकुमार गुप्ता मधेसी मूलका भएका कारण मन्त्रीबाट राजीनामा दिन बाध्य पारिएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्–
ढुक्क हुनुस्, भूमिमन्त्री बलराम अधिकारीले राजीनामा दिनु पर्दैन । बालुवाटार र च्यासलको शिरमा ‘बा’ को राज रहुञ्जेल उनका सगोत्री पार्टनरहरूलाई जे गर्न पनि छुट छ ।
सामान्य प्रशासनमन्त्री पदबाट भर्खरै राजीनामा दिएका राजकुमार गुप्ता मधेस मूलका थिए र उनलाई राजीनामा दिन बाध्य पारियो । बिचौलिया, कमिशनखोर र भ्रष्टाचारीहरूका संरक्षक शिरोमणि ‘बा’ का उनी सगोत्री भएको भए अझै ठूलो काण्ड गरेनि ‘बा’ को शिरमा विराजमान भइरहन्थे ।
भूमिमन्त्री अधिकारी, गुप्ताजीकै केस र अडियो काण्डमा मुछिएका हुन् । अडियो लगायतका प्रमाणहरू मिडियामा छ्यापछ्याप्ती छन् । तर, ‘बा’ र अधिकारीको सगोत्री समुदाय मौन छ । बलराम अधिकारीको ठाउँमा कुनै मधेसी, थारू, दलित वा जनजाति समुदायको व्यक्ति मन्त्री भएको भए यो केसमा ‘बा’ ले राजीनामाको फरमान जारी गर्न एकपल पनि खेर फाल्ने थिएनन् ।
FACEBOOK COMMENTS