काठमाडौं । रातो, पहेँलो, गुलाफी र हरियो– कहिलेकाहीँ तपाईँको पिसाब इन्द्रेणी रङको पनि हुन सक्छ । त्यो रङ सुन्तला वा प्याजी र नीलो पनि हुन सक्छ । त्योबाहेक केही मानिसको पिसाब कहिल्यै नदेखेको जस्तो रङको पनि हुन सक्छ ।
हाम्रो शरीरले काम नलाग्ने पदार्थ पिसाबमार्फत् निष्कासन गर्छ । अर्को शब्दमा भन्नुपर्दा हाम्रो शरीरबाट फोहोर पिसाब हुँदै बाहिर निस्कन्छ । यो नाइट्रोजनयुक्त फोहोर शरीरको प्रोटिन रातो रक्तकोष र मांसपेशीहरू टुक्रिएर बनेको हुन्छ । यो फोहोरमा पाइने मुख्य तत्त्वहरू क्रेटीनीन र युरिया हुन् ।
त्योबाहेक पनि पिसाब हुँदै अन्य वस्तु पनि शरीरबाहिर निस्कन्छन् । जस्तो कि हामीले खाने भिटामिनहरू र औषधिहरू पनि । तर, पिसाबमा नहुनुपर्ने कुरा पनि कहिलेकाहीँ पिसाबमा हुन्छन् ।
जब हामी डाक्टरकहाँ जान्छौँ तब उनीहरू हामीलाई सोध्छन् नि– तपाईँको पिसाबको रङ कस्तो छ ? त्यो प्रश्नको जबाफको आधारमा डाक्टरले बिरामीको रोगबारे बुझ्न र त्यसपछिको उपचारबारे निर्णय गर्न सहयोग गर्छ ।
रातो पिसाब
यदि कसैको पिसाब रातो छ भने त्यसमा सामान्यतया रगत छ भन्ने बुझ्नुपर्छ । त्यो पिसाब नलीहरूमा भएको समस्याका कारण हुन सक्छ । मिर्गौला, पित्तथैली र प्रोस्टेट वा मूत्रनलीमा जोडिएका नशामा समस्या भएका कारण रातो पिसाब आएको हुन सक्छ ।
रगत कति बेला वा कति मात्रामा पिसाबमा मिसिएको हो त्यसको आधारमा रातो पिसाबको रङ पनि फरकफरक अर्थात् हल्कादेखि गाढासम्म हुन सक्छ । यदि धेरै रक्तस्राव भइरहेको छ भने पिसाबको रङ रेड वाइन जस्तै गाढा हुन सक्छ । यस्तो रङको पिसाब आउनुका धेरै कारण हुन सक्छन् । मिर्गौलामा पत्थरी, क्यान्सर, कुनै किसिमको धक्का वा मूत्रनलीमा भएको सङ्क्रमण ।
मूत्ररोग विशेषज्ञ डा. अर्जुनदेव भट्टका अनुसार यदि पिसाब गुलाबी रङको अथवा हल्का रातो वा रातो नै छ भने त्यसमा रगतका कण छन् भन्ने बुझ्नुपर्छ । ‘यदि रातो नै छ भने त्यसमा धेरै नै रगत छ भन्ने देखाउँछ । त्यसलाई ‘म्याक्रोहेमाटुरिआ’ भनिन्छ । आँखाले नै देख्ने गरी रातो हुन्छ,’ उनले भने ।
उनका अनुसार अलिकति गुलाफी रङको पिसाब छ भने त्यसमा पनि रगतको मात्रा हुन्छ । तर केही कम मात्रामा हुन्छ । चुकन्दर खाँदा पनि कहिलेकाहीँ रगतको रङ रातो हुन सक्ने उनी बताउँछन् । त्यो भएर पिसाबमा रगत नै हुनुपर्छ भन्ने हुँदैन । तर प्रायःजसो त्यस्तो हुन्छ । कहिलेकाहीँ पिसाबको रङ चौलानी जस्तो हुन्छ । पिसाबमा ‘काइल्ड’ मिसिँदा त्यस्तो हुने गर्छ ।
‘त्यसै गरी पिसाब धमिलो भयो अथवा दुर्गन्धित भयो भने त्यस्तो अवस्थामा सङ्क्रमणको सम्भावना उच्च हुन्छ । त्यस्तोमा जाँच गर्दा पिसाबमा पिपको मात्रा देखिन्छ,’ उनले भने । धेरै मात्रामा चुकन्दर खाएपछि पनि पिसाब रातो आउन सक्छ ।
सुन्तला वा पहेँलो
कम पानी खाएको अवस्थामा पिसाब अलि बढी पहेँलो हुन सक्छ । यदि कसैलाई जन्डिस छ भने पनि पिसाब पहेँलो हुन्छ । ‘त्यस्ता बिरामीको पिसाब यति कडा हुन्छ कि उनीहरूलाई त्यसमा रगत नै छ भन्ने लाग्छ । तर त्यो रगत होइन,’ भट्ट भन्छन् । उनका अनुसार त्यसबाहेक मासु, गेडागुडी लगायत प्रोटिन धेरै खाने र पानी कम खाने गरेमा पनि पिसाब पहेँलो हुन सक्छ ।
हामी सबैलाई थाहा भएको कुरा हो हाम्रो पिसाबको रङ पहेँलो हुन्छ । बेसार जस्तो पहेँलो रङ चाहिँ तपाईँ दैनिक रूपमा कति पानी पिउनुहुन्छ त्यसमाथि निर्भर गर्छ । यदि तपाईँको शरीरमा पानीको मात्रा कम भयो भने पिसाबको रङ गाढा पहेँलो हुन्छ । कहिलेकाहीँ त्यो सुन्तला रङको पनि हुन सक्छ ।
यदि तपाईँले प्रशस्त पानी पिउनुभयो भने पिसाबको रङ पनि पातलो रङको वा हल्का पहेँलो रङको हुन्छ । तपाईँको पिसाबलाई पहेँलो बनाउने तत्त्वलाई युरोबिलिन भनिन्छ । शरीरमा भएको पुरानो रक्तकोष टुक्रिँदा युरोबिलिन बन्ने प्रक्रिया सुरु हुन्छ ।
त्यस्ता रक्त कोष नियमित आकारप्रकारका नहुने भएकाले तिनलाई शरीरले पिसाबका रूपमा निष्कासन गर्छ । यो प्रक्रियामा बिलिरुबिन भनिने तत्त्व शरीरमा उत्पादन हुन्छ । त्यो केही पिसाबबाट र केही आन्द्राबाट बाहिर निस्कन्छ । हाम्रो कलेजोले बिलिरुबिनको उपयोग गरेर पित्त बनाउँछ ।
पित्त चाहिँ पाचन र हाम्रो शरीरमा भएको बोसो टुक्र्याउने कामका लागि महत्त्वपूर्ण हुन्छ । पित्त आन्द्रामा बस्छ र दिसाका माध्यबाट बाहिर निस्कन्छ । यही पित्तकै कारण शरीरमा दिसाको रङ खैरो रङको हुन्छ । तर, कहिलेकाहीँ पित्तको पत्थरी वा क्यान्सरले पित्त निस्कने मार्ग बन्द हुन्छ र त्यो आन्द्रामा पुग्न सक्दैन । त्यसपछि त्यो बिलिरुबिन रक्त प्रवाहमा प्रवेश गर्छ र पिसाबमार्फत् बाहिर निस्कन्छ ।
त्यसै कारण पिसाब गाढा सुन्तला वा खैरो हुन थाल्छ । जब पिसाबमा बिलिरुबिनको मात्रा बढ्दै जान्छ छालाको रङ पनि पहेँलो हुन थाल्छ । यस्तो अवस्थालाई ‘अबस्ट्रक्टिभ जन्डिस’ भनिन्छ जुन एक प्रकारको कमलपित्त रोग हो । केही औषधि खाएका बेला पनि पिसाब सुन्तला रङको आउन सक्छ ।
हरियो र नीलो पिसाब
हरियो र नीलो रङको पिसाब विरलै आउने गर्छ । पिसाब फेर्दा हरियो वा नीलो रङको पिसाब आए तपाईँ पक्कै पनि आश्चर्यचकित हुनुहुनेछ । यदि शौचालयमा भएको कुनै रासायनिक पदार्थका कारण पिसाबको रङ परिवर्तन भएको होइन भने तपाईँको शरीरमा केही भइरहेका कारण त्यस्तो पिसाब आएको हुन सक्छ ।
यदि तपाईँको खानामा कुनै रङ प्रयोग भएको छ भने तपाईँको पिसाब हरियो वा नीलो हुन सक्छ । तर, त्यो खानेकुरा अत्यधिक मात्रामा खानुभएको छ भने मात्र त्यस्तो हुने हो । एनेस्थेटिक्स वा भिटामिन वा एन्टीहिस्टामिन जस्ता औषधिले पनि पिसाबलाई हरियो वा नीलो बनाइदिन सक्छन् ।
कुनै ब्याक्टेरियाले उत्पन्न गर्ने तत्त्वका कारण पनि हरियो हुन सक्छ । ‘स्युडोमोनस एरुजिनोसा’ले हरियो रङका प्योसायानिन मिश्रण उत्पन्न गर्छन् । यो मूत्रनली सङ्क्रमणको दुर्लभ कारण हो । यो भयो भने व्यक्तिले पिसाब फेर्दा दुख्ने या पोलेको जस्तो हुन्छ ।
प्याजी रङको पिसाब
असाध्यै दुर्लभ रूपमा प्याजी पिसाब आउँछ । पोर्फाइरियाका कारण त्यस्तो भएको हुन सक्छ । यो आनुवंशिक रोगका कारण यस्तो भएको हुन सक्छ जसले छाला र स्नायु प्रणालीलाई असर पार्छ । अर्को कारण चाहिँ ‘पर्पल युरिन ब्याग सिन्ड्रोम’ का कारण पनि प्याजी रङको पिसाब आउन सक्छ । यो पनि मूत्रनलीको सङ्क्रमणसँग सम्बन्धित छ । अस्पतालमा शरीरको बाहिर कृत्रिम मूत्रथैली झुन्ड्याएर हिँडिरहेका बिरामीका त्यस्ता मूत्रथैलीमा प्याजी रङको दाग हामी देख्न सक्छौँ ।
प्याजी कि गुलाफी
फेरि एक पटक रगत र चुकन्दरको कुरा गर्नुपर्ने भयो । थोरै मात्रामा चुकन्दर खाँदा पिसाब गुलाफी रङको हुन सक्छ जबकि धेरै खाँदा गाढा रातो आउन सक्छ । यस्तो हुँदा डाक्टरहरू पिसाबलाई रातो वाइनसँग दाँज्छन् ।
अरू रङ
पिसाब अरू रङको पनि हुन सक्छ जुन इन्द्रेणीको सात रङमा छैन । कहिलेकाहीँ पिसाब असाध्यै गाढा हुन सक्छ– गाढा खैरो वा कालो रङको । डाक्टरहरूले त्यसलाई कोकाकोलासँग तुलना गर्छन् । यो गम्भीर रोगका कारण पनि हुन सक्छ । वा कुनै औषधि उपभोग गरेका कारण पनि त्यस्तो भएको हुन सक्छ ।
यो बिलिरुबिनका कारण पनि यस्तो हुन सक्छ । बिलिरुबिनले पिसाबलाई यति गाढा बनाइदिन्छ कि यो सुन्तला रङको सट्टा खैरो पनि हुन सक्छ । यो पिसाबमा रगत भएका कारण पनि हुन सक्छ । मिर्गौलामा सङ्क्रमणले पनि रक्तस्राव गर्न सक्छ । मिर्गौलामा भएको समस्याका कारण पिसाब रातोबाट खैरोमा परिवर्तित हुन सक्छ । अनि रङ नै नभएको पनि पिसाब हुन सक्छ ।
पिसाबको रङ गाढा पहेँलो हुनु हुँदैन र असाध्यै हल्का पिसाब पनि कुनै रोगको सङ्केत हुन सक्छ वा मधुमेह वा अत्यधिक मदिरा सेवनका कारण पनि त्यस्तो हुन सक्छ । त्यसैले यदि रगतको रङ सामान्यभन्दा फरक छ भने त्यहाँ समस्या हुन सक्छ । त्यसको कारण पत्ता लगाउनुपर्ने हुन्छ । त्यसैले डाक्टरको परामर्श लिनुपर्छ र चाहिए जति पानी पिउनुपर्छ ।
हल्का पहेँलो पिसाब छ भन्ने नआत्तिन युरोलोजिस्ट भट्ट सुझाउँछन् । सफा पिसाब हुँदा पनि नआत्तिन उनी भन्छन् । यद्यपि हरेक अवस्थामा पिसाब सफा नै आइरह्यो भने त्यसबाट पनि सचेत हुनुपर्ने डा. भट्ट बताउँछन् ।
‘जस्तै पानी एकदम कम पिएका छौँ, माछामासु खाएकै छौँ । र पनि पिसाब सफा आउँछ भने त्यसको अर्थ मिर्गौलाको कन्सन्ट्रेशन पावर नै कम हुन गएको छ र खाना अनुसारको पिसाब निस्केको छैन भन्ने कुरा देखाउँछ,’ उनले भने । बीबीसी नेपालीबाट
FACEBOOK COMMENTS