काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरे ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उक्त विधेयकमाथि निर्णयार्थ प्रस्तुत गर्दै सर्वसम्मतिले पारित भएको घोषणा गरे ।
बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरे । उनले कुनै पनि अनुसन्धानलाई वैज्ञानिक र प्रमाणमा आधारित बनाउनका लागि यो विधेयक आवश्यकता रहेको र सही अनुसन्धानका लागि जरुरी भएको स्पष्ट पारे ।
बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकतासम्बन्धी प्रतिवेदन, २०८१’ सभासमक्ष पेस गरे ।
राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गरे । साथै, उनले ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष जानकारी गराई टेबुल गरे ।
FACEBOOK COMMENTS