काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सुनकोशी मरिन डाइभर्सन बहुउदेश्यीय आयोजनाको काम तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् ।
उनले कामलाई तीव्र गतिमा अगाडि बढाएर तोकिएकै समयमा आयोजना सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिए ।
“आयोजना निर्माणको कामलाई तीव्र गतिमा अगाडी बढाउनुस्, काम तेकिएकै समयमा सक्नेगरि लाग्नुस्, काम गर्ने स्पिड बढाउनुस्, कार्यप्रगतिको आधारमा बजेटको अभाब हुदैन,” मन्त्री खड्काले भने ।
उर्जामन्त्री खड्काले आयोजनाको १३.२ किलोमिटर सुरूङ निर्माण सकिएकोले अब हेडवक्सको काम तिव्र गतिमा सक्न ठेकदार कम्पनीलाई निर्देशन दिए । “यो देशको हामी सबै नागरिक हौँ ठेकेदार, कर्मचारी, मन्त्री जो भएपनि देशको विकास भए सबैको विकास हुन्छ, काम चाँडो सक्ने हुटहुटीका साथ काम गर्नुस्,”– उनले भने ।
आयोजना अगाडी बढाउन स्पष्ट खाका बनाएर लक्ष्य अनुसार काम गर्न मन्त्री खड्काले निर्माण कम्पनीलाई निर्देशन दिए । “काम गर्ने हामीले नै हो, अरूले होइन, लक्ष्य प्राप्ती गर्नका लागि काम गर्नुभएन भने सरकारले बैकल्पिक बाटो सोच्छ, यो सरकारको वाध्यता हो,” उनले भने ।
उक्त आयोजनाबाट एक लाख २२ हजार हेक्टर सिचाई हुने र ३२ मेगावाट विद्युत उत्पादन हुने र कुल पानीको १० प्रतिशत खानेपानी सुविधा उपलब्ध गराउन भएकोले सबै मिलेर काम गर्नुपर्ने बताए । “लक्ष्यलाई भेट्ने गरि काम गर्नुस, म्याद थप हुने कुरा नगरौं,” उर्जामन्त्री खड्काले भने ।
जलस्रोत तथा सिंचाई विभागका महानिर्देशक सञ्जीव बरालले लक्ष्य भेट्नेगरी आयोजना निर्माणको कामलाई अगाडि बढाउनुपर्ने बताए । “अहिलेसम्म ५० प्रतिशत काम सकिनु पर्नेमा हेडवक्समा जम्मा १९ प्रतिशतमात्रै काम हुनु दुःखद कुरा हो, काम तोकिएकै मितिमा सम्पन्न गर्नेगरी लाग्नुहोस्,”– उनले भने ।
महानिर्देशक बरालले अहिलेकै अवस्थाका काम रहे ठेक्का तोडिने बताए । १४ अर्बको आयोजनामा हालसम्म एक अर्ब २० करोड मोविलाइजेशन खर्च परिचालन गरिसकेको उनको भनाई थियो ।
स्मेक कन्सल्यान्टका प्रतिनिधी दिवस श्रेष्ठले आयोजना निर्माणको काम चित्तबुझ्दो नभएको बताउँदै समयमै काम सम्पन्न गर्नका लागि आफूहरुले ठेकेदार कम्पनीलाई निरन्तर खवदारी गरिरहेको बताए ।
आयोजनाका ठेकेदार कम्पनी रमन कन्ट्रक्सनका प्रतिनिधीले रमन पटेलले विभागबाट हुने भुक्तानी बेलैमा नभएका कारण आयोजना निर्माणमा केही ढिलाई भएको भन्दै सरकारले सहयोग गरे आफूहरुले समयमै आयोजना सम्पन्न गर्ने बताए ।
FACEBOOK COMMENTS