काठमाडौं । नेपाल चेम्बर अफ कमर्श अन्तर्गतको महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले महिलाद्वारा सञ्चालित उद्योगहरूलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउन तथा उत्पादित वस्तुको बजारीकरणमा राज्यले सघाउनुपर्ने बताएकी छिन् ।
अन्तर्राष्ट्रिय नारी दिवसको पूर्वसन्ध्यामा आज सोमबार महिला चेम्बरद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा अध्यक्ष श्रेष्ठले महिलाद्वारा सञ्चालित उद्योगबाट उत्पादित वस्तुलाई आन्तरिकदेखि अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्न राज्यले नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिँदै सो कुरा बताएकी हुन् ।
त्यस्तै महिलाले सञ्चालन गरेका उद्योगमा भ्याटदेखि आयकरसम्ममा राज्यले सहुलियत दिनुपर्ने पनि बताएकी छिन् ।
सोही कार्यक्रममा उनले महिला अधिकार व्यावहारिक रूपमा अझै पनि सुनिश्चित हुन नसकेको बताउँदै आर्थिक, राजनीतिक, सामाजिक सबै क्षेत्रमा महिलाहरू आफ्नो अधिकारका लागि अझै पनि लडिरहनुपर्ने अवस्था कायमै रहेकोप्रति दुःख व्यक्त गरिन् । महिलाहरूका मुद्दालाई राज्यको मुद्दा नबनाएसम्म महिला दिवस मनाउनुको अर्थ नहुने तर्क उनको छ ।
उक्त कार्यक्रममा अर्थविद पोषराज पाण्डेले महिला व्यवसायमैत्री राज्यको नीति बन्न नसक्दा महिलालाई पुरुषसरह व्यवसाय गर्न कठिन भएको बताए । महिलाले सञ्चाल गरेका उद्योगहरूमा कोभिड–१९ को प्रभाव सबैभन्दा वढी परेको पाण्डेको भनाइ छ ।
त्यसैगरी कार्यक्रममा इजरायलका लागि पूर्वराजदुत अञ्जान शाक्यले महिला सशक्तीकरणका लागि राज्यले नै पहल गर्नुपर्नेमा जोड दिए । महिलाका अधिकार सुनिश्चित गर्ने सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यासबारे शाक्यले कार्यपत्र समेत प्रस्तुत गरेका थिए ।
महिलाको अधिकार सुनिश्चित गर्न अन्तर्राष्ट्रिय महिला दिवसमा मात्रै नभई वर्षभरी विभिन्न सचेतनामुलक कार्यक्रम गर्नुपर्ने शाक्यको भनाइ छ ।
यो पनि पढ्नुहोस्–
आत्मनिर्भर अर्थतन्त्रका लागि महिला र पुरुष एकजुट भएर लाग्नुपर्छ : चेम्बर अध्यक्ष मल्ल
उद्यमशीलताको विकासमार्फत महिला अधिकार सुनिश्चित गर्नुपर्छ : मन्त्री रेग्मी
FACEBOOK COMMENTS