अहिले आयोडिन मन्थ चलिरहेको छ । संयुक्त राष्ट्र संघको आह्वानमा यो फेब्रुअरी महिनाभर नेपाल सरकार र निजी क्षेत्रका सरोकारवालाहरूले विभिन्न चेतनामूलक क्रियाकलापसहित आयोडिन मन्थ मनाइरहेका छन् । आयोडिनयुक्त नुनको उपभोग, गुणस्तर र बजारको अवस्थाका बारेमा विभिन्न चर्चापरिर्चा चलिरहेकै छ ।
तर, म यसबारे ‘इन्द्रको अगाडि स्वर्गको बयान’ जस्तो गर्न चाहन्नँ । किनकि म आयोडिनको जानकार वा विशेषज्ञ होइन । तर, साल्ट ट्रेडिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएको कोणबाट हामीले सम्पादन गर्दै आएको कामको बारेमा केही भन्नु मेरो दायित्व हो भन्ने ठानेको छु ।
मुख्य कुरा साल्ट ट्रेडिङ लिमिटेडले आयोडिनयुक्त नुन देशव्यापीरूपमा विक्री वितरण गर्छ, नुनमा गुणस्तर कायम गर्छ । उपलब्धता र आपूर्तिको सुनिश्चितता पनि गर्दै आएको छ । तर, नुनमा कति आयोडिन मिसाउने, यसको प्रभाव के कस्तो परिरहेको छ भन्ने कुराको लेखाजोखा गर्ने निकाय हामी होइनौँ । किनकि सरकारले दिएको मापदण्ड पूरा गर्ने काम मात्रै साल्ट ट्रेडिङको हो, मनलाग्दी आयोडिन मिसाउने काम हाम्रो होइन र यसले कुनै स्ट्याण्डर्ड (मापदण्ड) पनि तोक्दैन ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) र युनिसेफलगायत सरोकारवाला अन्तर्राष्ट्रिय निकायहरूसँगको समन्वयमा नेपाल सरकारले गर्ने अध्ययन र अनुसन्धानबाट निकालिएको निष्कर्ष र त्यस आधारमा हामीलाई प्राप्त हुने निर्देशनहरू पालना गर्दै हामीले तोकिएको मापदण्डअनुसार नुनमा आयोडिन मिसाउने हो । अहिले बजारमा साल्ट ट्रेडिङको नुनमा आयोडिन बढी भयो, त्यसबाट यस्तो भयो उस्तो भयो भनेर धेरै टिकाटिप्पणीहरू हुन थालेको सुनिन्छि । मलाई लाग्छ, ती कुनै पनि कुरामा सत्यता छैन । हाम्रा विशेषज्ञ डाक्टरहरूले पनि आयोडिनयुक्त नुन नै प्रयोग गर्न बारम्बार सूचित गर्दै आउनुभएको छ । यदि खराबी हुन्थ्यो भने डाक्टरहरूले नखानका लागि उर्दी गर्नुहुन्थ्यो होला ।
यद्यपि, केही डाक्टरहरूले यसबारे नकारात्मक कुराहरू पनि गर्नुभएको छ । उहाँहरूले किन त्यो कुरा भनिरहनुभएको छ स्वयम् उहाँहरूलाई नै थाहा छैन जस्तो मलाई लागेको छ । म यत्ति भन्न सक्छु– नेपालमा आयोडिन बढी भएर भन्दा कमी हुँदा हुने क्षति धेरै नै छ ।

मैले के आधारमा यो भनिरहेकी छु भने आयोडिनयुक्त नुनको बारेमा अहिले हाम्रोमा जस्तै नकारात्मक र भ्रमपूर्ण कुराहरू श्रीलंकामा पनि केही समय पहिला फैलिएको थियो । प्रश्न उठिसकेपछि त्यहाँको सरकारले नुनमा आयोडिनको मात्रा घटायो । आयोडिनको मात्रा घटाएसँगै स्वाभाविक रूपमा नुनको मूल्यमा कमी आयो, नागरिकहरू खुसी भए । तर, आयोडिन घटाएको एक वर्ष नपुग्दै आयोडिनको कमीले हुने समस्यासहितको बच्चाहरू जन्मिन थाले । यसले श्रीलंकालाई नराम्ररी झस्कायो ।

कुनै एउटा बैठकमा त्यहाँका प्रतिनिधिहरूले हामीलाई सुनाएका थिए– ‘हामीले जस्तो गल्तीचाहिँ तपाइँहरूले नगर्नुहोला । यदि घटाउनुपर्ने परिस्थिति आयो भने पनि व्यापकरूपमा अध्ययन अनुसन्धान गरी प्राप्त प्रतिवेदनहरूको निष्कर्षका आधारमा मात्रै घटाउनुहोला ।’

नेपालमा उठिरहेको सन्दर्भका बारेमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग हामीले पटक–पटक बैठक तथा छलफलहरू गरेका छौँ । तर, उक्त बैठकले कुनै निष्कर्ष निकाल्न सकेको छैन । किनकि उठेका विषयमा सरकारको तर्फबाट पनि कुनै अनुसन्धान भएको छैन ।

प्रश्न उठ्यो भनेर नुनमा आयोडिन त घटाउँला, तर भोलिका दिनमा श्रीलंकलनहरूले उल्लेख गर्नुभएको जस्तो समस्या नेपालमा पनि देखियो वा जवजात शिशुमा आयोडिन डेफिसेन्सी देखियो भने त्यसको जिम्मा कसले लिन्छ ? यदि आयोडिन प्रयोग नगर्ने हो भने जवजात शिशुमा आयोडिन डेफिसेन्सी देखिने मात्र होइन गर्भ तुहिने, मृत शिशु जन्मिने, लुलोलङ्गडो, अपाङ्ग र सुस्त मनस्थितिको समेत समस्या पुन: सृजना हुन्छ । आयोडिन त मानिसलाई मात्रै होइन कम्तिमा घरपालुवा पशुपक्षीहरूलाई समेत आवश्यक छ ।

यति सस्तो मूल्यमा उच्च गुणस्तरयुक्त आयोडिन नुनको विक्रीवितरण साल्ट ट्रेडिङले गरिरहेको छ । त्यसैका विरुद्ध भ्रमपूर्ण प्रचारहरू भइरहेको मैले पाएको छु । अहिले विकसित देशहरूले नुनमा ८० पार्ट पर मिलियन (पीपीएम) सम्म आयोडिन मिसाउन थालिसकेका छन् । नेपालमा हाल ५० पीपीएम आयोडिन मिसाउने गरिएको छ, त्यो पनि उत्पादन, बजारीकरण र उपभोक्ताको भान्सासम्म पुगेर भण्डारण हुँदै पकाइतुल्याइ गर्दासम्म करिब ३० प्रतिशत आयोडिन नष्ट भइसकेको हुन्छ । यसलाई पनि बढी भयो भनेर हल्ला गरिनु कुतर्क हो । यदि कसैसँग यसबारे गरिएका नयाँ अनुसन्धानका तथ्य र निष्कर्षहरू छने भने नेपाल सरकारलाई दिँदा राम्रो हुन्छ । त्यस अनुसार सरकारले के गर्नुपर्ने गरिहाल्छ ।
(आयोडिन मन्थ, २०८० को अवसरमा गत आइतबार राष्ट्रिय उपभोक्ता मञ्चले काठमाडौंमा आयोजना गरेको ‘आयोडिनयुक्त नुनको उपभोग, गुणस्तर र बजारको अवस्था’ विषयक अन्तर्क्रिया कार्यक्रममा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठद्वारा व्यक्त विचारको सम्पादित अंश ।)
FACEBOOK COMMENTS