काठमाडौं । नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले महिलाहरू संवाहक, साहस र सम्भावना भएको बताएकी छिन् ।
महिला चेम्बरले विभिन्न क्षेत्रका ७५ जना अग्रणी र विशिष्ट महिलाहरूलाई सम्मान गर्न आज आयोजित भव्य समारोहलाइृ सम्बोधन गर्दै उनले महिलाहरू परिवर्तनका संवाहक, साहसका प्रतीक र सम्भावनाका उदाहरण भएको बताएकी हुन् ।
दृढ इच्छाशक्ति, परिश्रम र आत्मिक समर्पणले कुनै पनि अवरोधलाई पार गर्न सकिन्छ भन्ने कुरा महिलाहरुको सफलताको यात्राले प्रमाणित गरेको चर्चा गर्दै उनले महिलाहरू समाजका संवाहक, साहस र सम्भावना सबै भएको बताइन् ।
‘आजको विश्वमा महिलाको भूमिका केवल परिवार वा समाजमा मात्रै सीमित नभई विश्वव्यापी रूपमै फैलिँदै गएको छ । नेपालमा पनि महिलाहरू उद्योग र व्यापार लगायतका क्षेत्रमा क्रियाशील हुँदै राष्ट्र निर्माणमा उल्लेखनीय योगदान दिइरहेका छन्,’ अध्यक्ष श्रेष्ठले भनिन् ।
साथै उनले महिला सशक्तिकरणको नारा केवल एउटा नारा मात्रै नभइ विकासको अनिवार्य आधार भएको उल्लेख गरिन् । महिलालाई जबसम्म समान अवसर, वित्तीय पहुँच, शिक्षा, सिप र नेतृत्वका अवसर प्रदान गरिँदैन तबसम्म समग्र विकास अधुरो हुने धारणा उनले व्यक्त गरिन् ।

‘आजका महिलाहरू हस्तकला, कृषि, पर्यटन, सूचना प्रविधि, दिगो उत्पादन र नवप्रवर्तनका क्षेत्रमा अगाडि बढिरहेका छन्,’ नउले भनिन् ।

नेपाल चेम्बर अफ कमर्सले आफ्नो ७५औँ वार्षिकोत्सव (हीरक जयन्ती) को अवसरमा समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका ७५ जना महिलालाई सम्मान गरेको छ । नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादवले उनीहरूलाई सम्मान गरेका छन् ।

निवर्तमान प्रधानमन्त्री एवम् पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीदेखि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वसभामुख ओनसरी घर्ती मगर, उपसभामुख इन्दिरा रानामगर, पहिलो महिला उपप्रधानमन्त्री लता शैलजा आचार्य, पहिलो निर्वाचित सांसद लता साधना प्रधानलगायतलाई सम्मान गरिएको छ ।
यस्तै, पहिलो महिला इन्जिनियर, न्यायाधीश, पहिलो महिला लाइसेन्स प्राप्त गर्ने महिला, शिक्षा, स्वास्थ्यको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने महिला, समाजसेवी, उद्यमी लगायतका विशिष्ट महिलाहरूलाई चेम्बरले सम्मान गरेको छ ।