काठमाडौं । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम अस्थायी रूपमा रोक लगाइने घोषणा गरेकी छन् ।
ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा गृहमन्त्री नोएमले डिभी लोटरी कार्यक्रममा अस्थायी रोक लगाउने निर्णय भएको बताएकी हुन् ।
गोलीकाण्डमा संलग्न भएका व्यक्ति डिभी लोटरी कार्यक्रमबाटै ८ वर्षअघि अमेरिका प्रवेश गरेको खुलेपछि ट्रम्पले त्यस्तो निर्देशन दिएको भनेर न्यूयोर्कबाट प्रकाशन हुने सिबिएस न्युजले जनाएको छ । गृहमन्त्री नोएमले त्यसको जानकारी आफ्नो एक्स अकाउन्टमा पोस्ट लेखेर पनि दिएकी छन् ।
अधिकारिहरूका अनुसार क्लाउडिओ म्यानुएल नेभेस भ्यालेन्टी नाम गरेका ४८ वर्षीय पोर्चुगिज नागरिक सन् २०१७ मा डिभीमार्फत अमेरिकामा प्रवेश गरेका थिए ।
अमेरिका प्रवेशको केही वर्षपछि उनले ग्रीन कार्ड पाएका थिए ।
गोलीकाण्डको घटनापछि अमेरिकाले आप्रवासी नीतिमा कडाइ गरेको छ । सीमानामा पट्रोलिङ बढाउनेसँगै अन्य माध्यमबाट अमेरिका प्रवेश गर्ने माध्यममा समेत कडाइ गरेको छ । गत महिना वाशिङ्टन डिसीस्थित ह्वाइट हाउसनजिक भएको गोलीकाण्डको घटनापछि विभिन्न मुलुकहरूका नागरिकलाई अमेरिका प्रवेशमा समेत रोक लगाएको छ ।

FACEBOOK COMMENTS