नेपालगन्ज, बाँके। नेपालस्थित अमेरिकी दूतावासले आज अन्तर्राष्ट्रिय विकास इन्स्टिच्युट र आद्यन्त अड्भाइजरीसँगको साझेदारीमा देशव्यापी उद्यमशीलता सीप-निर्माण कार्यक्रमको सुरुवात नेपालगन्जबाट गरेको छ ।
यस पहलले प्रारम्भिक चरणमा रहेका नेपालभरका उद्यमीलाई दिगो व्यवसायहरूको निर्माण गर्न, लगानी आकर्षित गर्न र क्षेत्रीय तथा विश्वव्यापी बजारमा प्रतिस्पर्धा गर्न आवश्यक व्यवहारिक सीपहरू प्रदान गर्नेछ ।
यो कार्यक्रम लुम्बिनी प्रदेशमा नेपालगन्जबाट सुरु भई धनगढी, विराटनगर, जनकपुर, हेटौँडा, भैरहवा र पोखरामा जारी रहनेछ । सातै प्रदेशका गरी करिब २०० उद्यमीहरू प्रत्यक्ष कार्यशाला गोष्ठी र भर्चुअल बुटक्याम्पहरूको शृङ्खलामा सहभागी हुनेछन् ।
यस कार्यक्रमअन्तर्गतका प्रशिक्षण सत्रहरू व्यापार–व्यवसायका आधारभूत पक्ष, बजारको पुष्टीकरण, लगानीकर्तासँगको सञ्चार, डिजिटल बजारीकरण र निर्यातसम्बन्धी तयारीमा केन्द्रित छन् । यी मूलभूत दक्षताले उद्यमीहरूलाई आफ्ना नवीन सोचलाई रोजगारी सृजना गर्ने, व्यापार बढाउने र नेपालको दीर्घकालीन आर्थिक वृद्धि गर्ने किसिमका व्यवहार्य कम्पनीहरूमा रूपान्तरण गर्न मद्दत गर्नेछन् ।
“आर्थिक वृद्धि तथा नवप्रवर्तनका निम्ति उद्यमीहरू अपरिहार्य छन्,” नेपालस्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले भन्नभयो । “बजारको मागअनुसार विस्तार गर्ने सकिने व्यवसायहरूको निर्माणमा नेपाली संस्थापकहरूलाई सहयोग पुर्याई यस कार्यक्रमले नेपालको निजी क्षेत्रको सुदृढीकरण गर्नुका साथै अमेरिका र नेपालबिच व्यापार र वाणिज्य सहकार्यका नयाँ अवसरहरूको सृजना गर्छ।”

यो पहल अमेरिका–नेपाल वाणिज्य कूटनीति शृङ्खलाको एक हिस्सा हो जसले उद्यमशीलता, नवप्रवर्तन र निजी क्षेत्रको वृद्धिलाई प्रवर्धन गरी आर्थिक सम्बन्धहरूको विस्तार गर्दछ । व्यवसायका मोडेलहरूलाई परिष्कृत गर्न र उद्यमहरूलाई वृद्धि तथा अमेरिकी फर्महरूसँग साझेदारीका निम्ति तयार पार्न व्यवहारिक तालिम प्रदान गर्दै यस कार्यक्रमले उद्यमका संस्थापकहरूलाई सल्लाहदाता (मेन्टोर), लगानीकर्ता र औद्योगिक विज्ञहरूसँग जोड्दछ ।

नेपालभर उद्यमशीलतासम्बन्धी सहयोगमा पहुँचको विस्तार गरी यो कार्यक्रमले नेपालको नवप्रवर्तनको वातावरण (इकोसिस्टम) लाई मजबुत बनाउनुका साथै अमेरिका र नेपालबिचको आर्थिक सहकार्यलाई अघि बढाउँछ ।

यो कार्यक्रम नेपालस्थित अमेरिकी वाणिज्य सङ्घ र द ग्लोबल इम्प्याक्ट कलेक्टिभसँगको सहकार्यमा अन्तर्राष्ट्रिय विकास इन्स्टिच्युट र आद्यन्त अड्भाइजरीद्वारा कार्यान्वयन गरिएको हो ।
FACEBOOK COMMENTS