काठमाडौँ । अमेरिका र इरानबीच हुने महत्वपूर्ण वार्तामा आउने सबै प्रतिनिधि र पत्रकारलाई पाकिस्तानले अन अराइभल भिसा उपलब्ध गराउने भएको छ ।
पाकिस्तानका विदेशमन्त्री इशाक डारले वार्तामा इस्लामाबाद आउने सबै प्रतिनिधि र पत्रकारहरुलाई अन अराइभल भिसा उपलब्ध गराउने जानकारी दिएका हुन् ।
उनले इस्लामाबाद वार्तामा सहभागी हुने सबै देशका प्रतिनिधि र पत्रकारलाई स्वागत गर्ने जानकारी दिदै सबै विमान सेवाहरूलाई यस्ता यात्रुलाई भिसा बिना नै चढ्न अनुमति दिन निर्देशन दिइएको पनि बताएका छन् ।
वार्ताअघि इस्लामाबादमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अमेरिका र इरानबीच शनिबार वार्ता हुने तय भएको छ । इस्लामावादमा सर्वसाधारणको आवतजावत धेरै हदसम्म सीमित गरिएको छ भने धेरै सडकहरू सर्वसाधारण सवारीका लागि बन्द गरिएको छ । करिब १० हजार प्रहरी परिचालन गरिएको छ र विभिन्न स्थानमा जाँच चौकी स्थापना गरिएको छ ।
विदेशी प्रतिनिधिहरूको आवतजावत सहज बनाउन ट्राफिक व्यवस्थापनमा पनि परिवर्तन गरिएको छ । सरकारले बिहीबार र शुक्रबार इस्लामाबादमा सार्वजनिक बिदा घोषणा गरेको छ । यसका कारण धेरै विद्यालय र पसलहरू बन्द रहेका छन् र सहरको सामान्य गतिविधि समेत प्रभावित भएको छ ।

यस वार्तामा अमेरिकाको तर्फबाट उपराष्टपति भेन्ससहित राष्ट्रपतिका विशेष प्रतिनिधि स्टिभ विटकफ, वरिष्ठ सल्लहकार जारेड कुशनर र सैन्य अधिकारी ब्रेड कुपर सहभागी हुने छन ।

त्यस्तै इरानको तर्फबाट संसद अध्यक्ष मोहमद बाघेर गालिबाफ, विदेशमन्त्री अब्बास आराघची र उपविदेशमन्त्री मजिद तख्त सहभागी हुने बताइएको छ ।
त्यस्तै वार्तामा पाकिस्तानका तर्फबाट प्रधानमन्त्री शहबाज शरिफ, सेना प्रमुख आसिम मुनिर, विदेशमन्त्री इसाक डार र राष्ट्रिय सुरक्षा सल्लाहकार आसिम मलिक पनि वार्तामा सहभागी हुने बताइएको छ ।