एजेन्सी । दुई देशका विदेशमन्त्रीबीच ऐतिहासिक वार्ताका लागि भेट भएको एक हप्तापछि अमेरिकी र रुसी अधिकारीहरू मङ्गलबार साउदी अरेबियाको राजधानीमा भेट गर्ने भएको एक कूटनीतिक स्रोतले बताएको छ ।
वार्ताको संवेदनशीलताका कारण नाम नछाप्ने सर्तमा सोमबार दुई पक्षका प्रतिनिधिमण्डल ‘मङ्गलबार रियादमा भेट्ने’ स्रोतले जनाएको छ । नयाँ बैठक “गत हप्ताको ‘फलो-अप’ बैठक हुनेछ । यो गत हप्ताको भन्दा कम स्तरको छ तर यो अझै पनि प्रगतिको सङ्केत हो”, स्रोतले दुवै पक्षका प्रतिनिधिहरूको नाम खुलाउन नसकिने जनाउँदै भन्यो ।
एक हप्ताअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रुसी विदेशमन्त्री सर्गेई लाभरोभको नेतृत्वमा अमेरिकी र रुसी प्रतिनिधिमण्डलहरू अमेरिकी र रुसी राष्ट्रपतिहरू डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीचको शिखर वार्ताको आधारशिला राख्ने सम्भावित छलफलका लागि रियादमा भेट गरेका थिए ।
गत हप्ताको बैठकको अन्त्यमा सन् २०२२ फेब्रुअरीमा मस्कोद्वारा युक्रेनमा आक्रमण गरेयता दुई शक्तिबीच त्यस स्तरको पहिलो बैठकमा रुस र अमेरिकाले विवाद समाधान गर्न ‘परामर्श संयन्त्र’ स्थापना गर्न र युक्रेनको युद्धमा वार्ताका लागि वार्ताकारहरू नियुक्त गर्न सहमत भएका थिए । यो बैठक फेब्रुअरीको सुरुमा ट्रम्प र पुटिनबीचको टेलिफोन वार्तालापपछि भएको थियो । उक्त फोन वार्ताले रुसी राष्ट्रपतिलाई अलग्याउने अहिलेसम्मको पश्चिमी रणनीतिलाई उल्ट्याएको थियो ।
गत हप्ता ट्रम्पले मस्कोसँग सम्झौताको सम्भावनाका बारेमा ‘धेरै विश्वस्त’ भएको बताए । फ्लोरिडाको मार–ए–लागो निवासमा प्रेसले महिनाको अन्त्यअघि भ्लादिमिर पुटिनसँग सम्भावित बैठकको बारेमा सोध्दा अमेरिकी राष्ट्रपतिले ‘सम्भवतः’ भन्ने जवाफ दिए ।
ट्रम्पले पुटिनसँग कूटनीति पुनः सुरु गर्न र युरोपेली राष्ट्रहरू र युक्रेनको संलग्नता बिना रुस–युक्रेन युद्ध अन्त्य गर्न तयार रहेको घोषणा गरेर युरोपभर तरङ्ग ल्याए । उनले युद्ध सुरु गर्नमा युक्रेनको कथित जिम्मेवारीको बारेमा रुसी कुराहरू दोहोर्याउनुभएको जस्तो देखिएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले ‘युक्रेन बिना युक्रेनका बारेमा’ वार्ताको सम्भावनाको आलोचना गरे ।
FACEBOOK COMMENTS