महेन्द्रनगर । कञ्चनपुरको महाकाली नदी किनारामा एक लाख पुरस्कार राशिको खुला बिचभलिबल प्रतियोगिता हुने भएको छ ।
नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेक र कञ्चनपुर जिल्ला भलिबल सङ्घको संयुक्त आयोजनामा पहिलोपटक प्रथम पुरुष खुला तथा भेट्रान भलिबल प्रतियोगिता यही असोज २९ गतेदेखि आयोजना हुन लागेको हो ।
आयोजकले सोमबार महेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी यहाँको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित भाइरल रोड छेउमा रहेको महाकाली नदीमा बिचभलिबल आयोजना गरिने जानकारी गराएको छ ।
नेपाली सेनाले सैनिक–नागरिक सम्बन्ध थप सुदृढ गर्नुका साथै खेलाडी उत्पादन र खेलकुदको विकासमा टेवा पुग्ने लक्ष्यसहित उक्त आयोजना गर्न लागेको जनाएको छ । प्रतियोगिता मूल आयोजक समिति संयोजक एवं भलिबल सङ्घका जिल्ला अध्यक्ष श्यामसिंह मौनीले खेलकुदको विकाससँगै यहाँका पर्यटकीय क्षेत्रको प्रचार–प्रसारमा समेत आयोजनाले बल पुग्ने बताए ।
“शुक्लाफाँटाबाट झोलुङ्गे पुल हुँदै भाइरल रोडसम्म पर्यटक आवागमन बढ्ने अनुमान छ”, उनले भने, “त्यसका लागि सरकारी संयन्त्र र भलिबल सङ्घबीच सहकार्य भएर प्रतियोगिता आयोजना हुँदैछ ।” खुलातर्फ प्रथम स्थान हासिल गर्ने टिमले रु एक लाख नगद, ट्रफी र मेडलबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
त्यसैगरी द्वितीय हुने टिमले ५० हजार र तृतीय स्थान ओगट्ने टिमले २५ हजार नगद, ट्रफी र मेडलबाट पुरस्कृत गरिने संयोजक मौनीले जानकारी दिए । त्यसैगरी भेट्रान ९चालीस वर्षभन्दा माथि० तर्फ पहिलो हुने टिमले २५ हजार, दोस्रोले १५ हजार र तेस्रो हुने टिम १० हजार नगद, ट्रफी र मेडलसहित पुरस्कृत हुनेछन् ।
प्रतियोगिता सञ्चालनका लागि विभिन्न उपसमितिसमेत गठन गरिएका छन् भने प्रतियोगिता सञ्चालनका लागि भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका र दोधारा चादँनी नगरपालिकाबाट पनि आवश्यक सहजीकरण भइरहेको आयोजकले जनाएको छ ।
FACEBOOK COMMENTS