काठमाडौँ । नयाँ उपराष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ। नयाँ बानेश्वरस्थित संसद भवनमा १० बजेबाट मतदान सुरु भएको हो। दिउँसो ३ बजेसम्म मतदान हुनेछ।
संसद् भवनको ल्होत्से हलमा दुई मतदान केन्द्रको व्यवस्था गरिएको छ। संघतर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादव र प्रदेशसभा तर्फबाट नेकपा (एमाले)का राजेन्द्रसिंह रावलले पहिलो मतदान गरे।
संघ र प्रदेशसभा सदस्यका लागि बेग्ला–बेग्लै मतदान केन्द्र कायम गरिएको छ। निर्वाचनमा संघीय संसद्का तीन सय ३२ र प्रदेशसभातर्फ पाँच सय ५० मतदाता कायम छ।
मतदानका लागि मतदाता बिहान नौ बजेदेखि नै मतदान केन्द्र अगाडि पङ्क्तिबद्ध भएका थिए भने उम्मेदवारहरू पनि मतदान केन्द्रमा पुगिसकेका छन्।
मतदान सम्पन्न भएलगत्तै गणना सुरु गरिने र साँझ ६ बजेसम्म परिणाम सार्वजनिक गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
उपराष्ट्रपति चुनावमा पनि ४ जना उम्मेदवार छन्। निर्वाचन आयोगले शुक्रबार हुने उपराष्ट्रपति चुनावको लागि चारजना उम्मेदवार रहेको मतपत्र सार्वजनिक भइसकेको छ।
नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा र जनता समाजवादी पार्टी जसपाबाट रामसहायप्रसाद यादव र प्रमिला कुमारीको नाम मतपत्रमा छ।
रास्वपाले भाग नलिने सम्भावना !
संसदको चौथो ठूलो दल नेपाल स्वतन्त्र पार्टी (रास्वपा) कसलाई भोट हाल्ने भन्नेमा अनिर्णित छ । यस विषयमा छलफल गर्न आज बस्ने भनिएको पार्टीको संसदीय दल वैठक स्थगित गरेकाे छ ।
आयोगले मौन अवधिमा बैठक बसेर कुनै निर्णय नलिन दलहरूलाई सचेत गराएकाले रास्वपा बैठक स्थगित भएको हो । यद्यपि, नेताहरू पार्टी कार्यालयमा बसेर अनौपचारिक सरसल्लाह गर्दैछन् ।
स्रोतका अनुसार उपराष्ट्रपति चुनावमा रास्वपाले मतदान नगर्ने सम्भावना बलियो बनेको छ । पार्टीको वाचापत्रमा नै देशमा उपराष्ट्रपति पद नै नचाहिने भनिएकाले मतदानमा भाग लिँदा विरोधाभास देखिनेमा धेरै नेताहरू सहमत छन् । यद्यपि, ठोस समझदारी भइसकेको छैन ।
एक सांसदले भने, ‘धेरै साथीहरू उपराष्ट्रपतिमा भोट हाल्नु हुँदैन भन्ने पक्षमा हुनुहुन्छ । सम्भवतः त्यही नै हुन्छ होला ।’
यसअघि राष्ट्रपति चुनावमा भने रास्वपाले मतदान गरेको थियो । त्यसबेला पनि अन्तिम क्षणमा निर्णय लिएर रास्वपाले सत्ता गठवन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई भोट हाल्यो । तर, उपराष्ट्रपतिमा भने सत्ता गठबन्धनलाई साथ दिने मुडमा धेरै नेताहरू छैनन् । यदि भोट हाल्नैपर्ने भयो भने एमालेकी अष्टलक्ष्मीलाई हाल्नुपर्ने मत बलियो छ ।
FACEBOOK COMMENTS