काठमाडौँ । अमेरिका र ईरानबीच युद्धविरामबारे वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल पाकिस्तान पुगेको छ ।
टोलीको नेतृत्व अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले गरिरहेका छन् । उनलाई स्वागत गर्न पाकिस्तानी सेना प्रमुख आसिम मुनीर विमानस्थल पुगेका थिए।
दुई देशबीच आज बिहान ८ बजेबाट वार्ता सुरु हुने तय भए पनि अब बैठक दिउँसोपछि मात्र सुरु हुने जनाइएको छ।
यसअघि इरानी प्रतिनिधिमण्डल शुक्रबार राति इस्लामाबाद पुगेको थियो । टोलीको नेतृत्व इरानका संसद सभामुख मोहम्मद बाघेर गालिबाफले गरिरहेका छन् ।
इस्लामाबाद पुगेपछि गालिबाफले सामाजिक सञ्जालमार्फत एक तस्वीर सार्वजनिक गरेका थिए। तस्वीरमा विमानका सिटमा चार बालबालिकाका फोटो राखिएको छ, जससँग रगतले रङ्गिएका विद्यालय झोला, जुत्ता र फूल पनि राखिएको देखिन्छ ।

गत फेब्रुअरी २८ मा इरानको मिनाब सहरस्थित एक प्राथमिक विद्यालयमा भएको आक्रमणमा १६८ जनाको मृत्यु भएको थियो। मृतकमध्ये बालबालिका र विद्यालयका कर्मचारीसमेत रहेका थिए ।

उक्त घटनाका लागि इरानले अमेरिका र इजरायललाई जिम्मेवार ठहर गरेको छ भने अमेरिकाले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

वार्तामा अमेरिकाको तर्फबाट उपराष्टपति भेन्ससहित राष्ट्रपतिका विशेष प्रतिनिधि स्टिभ विटकफ, वरिष्ठ सल्लहकार जारेड कुशनर र सैन्य अधिकारी ब्रेड कुपर सहभागी हुने छन । त्यस्तै इरानको तर्फबाट संसद अध्यक्ष मोहमद बाघेर गालिबाफ, विदेशमन्त्री अब्बास आराघची र उपविदेशमन्त्री मजिद तख्त सहभागी हुने बताइएको छ ।
त्यस्तै वार्तामा पाकिस्तानका तर्फबाट प्रधानमन्त्री शहबाज शरिफ, सेना प्रमुख आसिम मुनिर, विदेशमन्त्री इसाक डार र राष्ट्रिय सुरक्षा सल्लाहकार आसिम मलिक पनि वार्तामा सहभागी हुने बताइएको छ ।